अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आवासीय घरमा पेट्रोल पम्प !

आवासीय घरमा पेट्रोल पम्प !


गलकोट-बागलुङ बजारको आवासीय घरमा पेट्रोल पम्प राखिएको छ । बागलुङ नगरपालिकाले आवासीय घर भनेर निर्माण गर्न अनुमति दिएका स्थानमा पम्प सञ्चालन गरिएको जनाइएको छ । निर्माण सम्पन्न लिने समयमा पेट्रोल पम्प राखिदा घर सम्पन्नताको प्रमाणपत्रसमेत नगरपालिकाले दिएको छैन ।

बजारको न्यू धौलागिरि इन्टरप्राइजेजले केही साताअघि मात्रै आवासीय घरमा पेट्रोल पम्प स्थापना गरी बिक्री वितरण थालेको छ । पेट्रोल पम्पमाथि होटल पर्वसमेत सञ्चालन गरिएको छ । यो आफैमा जोखिमपूर्ण हुने सरोकारवाला बताउँछन् । सुरुमा छाप्रोबाट सञ्चालनमा आएको पम्प अहिले आवसीय घरमा सारिएको छ ।

मापदण्ड अनुसारको घर निर्माण नगरेको र आवासीय घरमा पेट्रोल पम्प राखेपछि भवन पास नगरिएको नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारीदिनुभयो । ‘आवासीय घर बनाउन अनुमति दिएका हौं, पछि पेट्रोल पम्प सञ्चालन प्रयोजनमा लाग्नुभयो, हामीले अनुमति नदिएर पटक–पटक पेट्रोलपम्प नराख्न आग्रह गरेका थियौं’ उहाँले भन्नुभयो, ‘पेट्रोल पम्पको मापदण्ड के हो रु त्यो आयल निगमले हेर्ला तर आवासीय भनेर निर्माण गरेको घरमा पेट्रोल पम्प राख्न पाइदैन, अझ होटलनै सञ्चालनमा आएको समेत सुनेका छौं ।’

अहिलेसम्म नगरपालिकाले भवन पास गरेको छैन । नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता, विनियमावली, २०७५ अनुसार बिक्री केन्द्रमा स्थापनाका लागि आवश्यकमापदण्ड अनुसार उक्त पेट्रोल पम्प नरहेको पाइएको छ ।

उक्त पम्प पेट्रोलपम्प स्थानान्तरण गर्दा नयाँ नियमावली २०७५ सक्रिय भए पनि पम्पले पुरानो मापदण्ड अनुसारको भन्दै पम्प स्थानान्तरण गरेको छ । नियमावलीमा नगरपालिकाभित्र जुनसुकै सडक भए पनि ३० मिटर मोहोडा र कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने, अण्डरग्राउड ट्याङ्की खुल्ला स्थानमा रहनुपर्ने, ट्याङ्कीमाथि कुनै किसिमको घर, टहरा निर्माण गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

पेट्रोल पम्पलाई आयल निगमले बेला बेलामा अनुगमन गरी मापदण्डमा ल्याउने गर्नुको साटो बेवास्ता गर्दै आएको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

उहाँले पेट्रोल पम्प राखेको भवन नगरपालिकाले पास गर्न नसक्ने बताउनुहुन्छ । विक्री केन्द्रका छेउछाउमा पर्खाल लगाएको हुनुपर्ने, विक्री स्थलमा महिला पुरुष शौचालय र पार्किङ लगायतको सुविधा हुनु पर्नेमा उक्त पूर्वाधारको समेत पेट्रोल पम्पमा अभाव रहेको पाइएको छ ।

नगरपालिकाले आवासीय घर भनेर पाँच तलाको अनुमति दिए पनि अहिले उक्त भवन छ तला निर्माण समेत गरिएको छ । पेट्रोल पम्पका सञ्चालक हरिबाबु सापकोटाले आफ्नो पेट्रोलपम्प मापदण्ड अनुसारकै रहेको जिकिर गर्नुभयो ।
विसं २०५१ मा अनुमतिपत्र ल्याएका कारण आफ्नो पेट्रोलपम्प सोही मापदण्ड अनुसारको भएको उहाँको दाबी छ । आफ्नो दुई रोपनी जग्गा भएको र मोहोडाकोसमेत मापदण्ड पुग्ने उहाँले जानकारी दिनुभयो ।