अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, भोलि मोदीसँग भेट्ने

प्रधानमन्त्री देउवा स्टकल्याण्डमा, भोलि मोदीसँग भेट्ने


स्कटल्याण्ड- प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुग्नुभएको छ ।

स्थानीय समयानुसार उहाँ सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले मङ्गलबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । सोही दिन उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नुहुनेछ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपालबाट शुक्रबार राति संयुक्त अधिराज्यको लण्डन पुग्नुभएका प्रधानमन्त्री देउवासँग शनिबार र आइतबार लण्डनमा विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूले भेटवार्ता गर्नुका साथै उहाँ विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री देउवा आइतबार राति लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो आइपुग्नुभएको हो । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।