अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन

‘एमाले बन्नु भनेकै मुलुक बन्नु हो’

‘एमाले बन्नु भनेकै मुलुक बन्नु हो’


महाधिवेशनको व्यवस्थापकीय तयारीको कुरा गर्दा सबैले बुझ्छन् कि एमालेले आफ्नो काम चुस्त ढङ्गले गर्छ । व्यवस्थित ढङ्गले गर्छ, समयसारिणी बनाएर गर्छ । हामी दशौं राष्ट्रिय महाधिवेशनको संघारमा छौं र आवश्यक तयारीको काम दैनिकरुपमा परिणाममुखी गरिरहेका छौं । राजनीतिक अधिकार र कर्तव्यको पालना गर्दै अघि बढ्दा जहाँ पनि समस्या समाधान हुन्छ । विश्वको राजनीतिक अभ्यास पनि यही हो । तर हाम्रो राजनीतिक कुरा गर्दा २००७, २०४६ को आन्दोलनले राजनीतिलाई व्यवस्थित गर्न सकेन । ०७२ मा आएर एक किसिमको राजनीतिक ‘सेटलमेन्ट’ भयो । संवैधानिक हिसावले जनक्रान्ति संस्थागत भएको छ । राजनीतिकरुपले संस्थागत गर्नेक्रममा हामी अझै छौं । नेपाल कम्युनिष्ट पार्टी एक भईरहको भए यो ‘सेटलमेन्ट’ हुन्थ्यो । किनभने, जनतामा विश्वास पलाएको थियो । तर फुटपछि पुनः जनतामा निराशा आएकै हो । देश फेरि राजनीतिक अस्थिरतामा जाने भयो, मुलुकमा राजनीतिक स्थायित्व नहुने भयो भन्ने चिन्ता भयो । यही निराशा र जिज्ञासा सम्बोधन गर्नु अहिलेको राजनीतिक नेतृत्वको चुनौति हो ।

एमाले नबने मुलुक बन्दैन
सबै जातजाति, भाषा, लिङ्गको साझा पार्टीले यो समस्या समाधान गर्छ । यस क्षेत्रमा एमाले प्रयत्नशील छ । हामीले विधान महाधिवेशनबाट त्यही बाटो तय गरेका छौं । त्यो नगरी सुख पनि छैन । आजको मुलुकको आवश्यकता पनि त्यही हो । नेपालका क्रान्तिकारी राजनीतिक दलको यो दायित्व र जिम्मेवारी पनि हो । यसरी हेर्दा एमाले नै यसको नेतृत्व गर्न सक्ने हैसियत बनाउँदै आएको दल हो । एमाले बन्नु भनेको मुलुक बन्नु हो । ‘एमाले नबने मुलुक बन्दैन’ भन्ने सन्देश प्रवाह भएको छ । अब एमालेले मुलुकको समस्या समाधान गर्ने संकल्पका साथ काम गर्नुपर्छ । म राजनीतिलाई द्वन्द्वात्मक तरिकाले हेर्छु । समयकाल अनुसार नेता फेरिनुपर्छ । नेता फेरिए मात्र मतदाता फेरिन्छन् । एउटा फेरिने अर्को नफेरिने हुँदैन । फेर्न त दुवै फेरिनुपर्छ तर पहिले राजनीति गर्ने नेतृत्व फेरिनुपर्छ । त्यसो नभए सुधारको काम गर्न सकिदैन ।

आगामी दिनमा नेकपा (एमाले) लाई बोक्ने खालका सक्षम नेतृत्व चाहिन्छ । लोकतान्त्रिक एकतावद्ध पार्टी हो, एमाले । तर अरु कैयन पार्टीमा त्यो छैन । लोकतान्त्रिक प्रक्रिया राम्रो भयो भने मात्र त्यसको मूल्य मान्यता स्थापित गर्न सहज हुन्छ । लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भएपछि कचिङ्गल शुरु हुन्छ । यो प्रक्रिया भत्किन दिनु हुँदैन । लोकतान्त्रिक प्रक्रियालाई जीवनसँग जोड्न नसक्ने हो भने पार्टी चल्दैन । त्यो जुनसुकै पार्टीमा लागू हुन्छ । दशौं महाधिवेशनमा एमालेले यसमा बढी ख्याल गर्नुपर्छ । पार्टी विभाजन भएर केही अन्यौल थपेको छ, कार्यकर्तामा । अब यो महाधिवेशनबाट पार्टी एकताको सन्देश दिन सक्नुपर्छ ।

एकता विधिमा
देश चलाउन पार्टी विचारधारात्मकरुपले पनि प्रष्ट हुनुपर्छ । हरेक महाधिवेशनबाट एक पाइला सुनिश्चित गर्न सक्यौं भने समाजवादसम्म पुग्न सजिलो हुन्छ । यो महाधिवेशनले पनि त्यो सन्देश दिन सक्नुपर्छ । महाधिवेशनमा निर्वाचनलाई नै सम्पूर्ण चिज हो भनेर मान्नु हुँदैन । निर्वाचन एउटा प्रक्रिया हो तर यो समग्रतामा सबै चिज होइन । जनताको मुद्दा समाधानमा ध्यान दिनुपर्छ । हामी अगाडि बढ्दैछौं, बढ्छौं भनेर सुनिश्चित गर्न सक्नु पनि सफलता हो । राजनीतिक दल मुलतः जनताका लागि काम गर्ने निकाय हो, त्यसैले जनताको मुद्दामा बढी ध्यान केन्द्रित गर्नैपर्छ । काम गर्दै जानुपर्छ, हिजोभन्दा आज राम्रो गर्न सकेका छौं कि छैनौं, समिक्षा गरेर अघि बढ्नुपर्छ । एकता व्यक्तिमा होइन, विधिमा सहमति गरेर अघि बढ्नुपर्छ । तबमात्र लक्ष्यमा पुग्न सकिन्छ । व्यक्ति आज छ भोलि छैन, तर विधि स्थापित गर्न सक्यौं भने त्यो पछिसम्म काम लाग्छ । एमालेले गर्न खोजेको अहिले यही हो । यो महाधिवेशनले त्यसमा पनि ध्यान दिनुपर्छ । उसो त विधान महाधिवेशनले धेरै काम गरिसकेको छ । बाँकी काम थप गर्दै जानुपर्छ ।

एमाले मुख्यतः लोकतान्त्रिक हिसावले एकतावद्ध हुन सक्नुपर्छ, त्यो भनेको विधिमा एकता र सर्वस्वीकार्यता हो । पार्टीमा व्यक्ति गौण विषय हो, विधि प्रधान विषय भएकाले हामी सबैको ध्यान त्यसमा जानुपर्छ ।

हाम्रा पुर्खाले एकताको तन्तु दिएर गएका छन् । त्यस विषयलाई पछ्याउँदै जानुपर्छ । राम्रा र नराम्रा दुवै विषय छन् । हामीले नराम्रालाई छाडेर राम्रालाई लिएर अघि बढ्नुको विकल्प छैन । हिजोभन्दा आज राम्रो गर्न राम्रा पक्षलाई आत्मसाथ गर्नैपर्छ । पार्टीलाई सुदृढ, एकतावद्ध र लोकतान्त्रिक बनाउन पनि राम्रो पक्षलाई व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्छ । आजको क्रान्तिको मूल नेतृत्वकर्ता अब एमाले हो भन्ने जनतामा परिसकेको छ । नेपालको आर्थिक समृद्धिको रुपान्तरण एमालेले मात्र गर्न सक्छ भन्ने सन्देश गएको छ । त्यसमा कटिवद्ध भएर एमाले पंक्ति लाग्न सक्नुपर्छ । त्यो तब सम्भव हुन्छ जब एमाले एकतावद्ध र लोकतान्त्रिक हुन्छ । विधिलाई अङ्गाल्छ र आफूलाई रुपान्तरण गरेर अघि बढ्छ । आफूलाई रुपान्तरण नगरी देशको रुपान्तरण सम्भव हुँदैन ।

संगठित एमाले हुन धेरै समय लाग्यो । हिजोका दिनमा हामी कोही कता थियौं, कोही कता । आज एमालेको छातामुनी गोलबद्ध छौं । अझ गोलबद्ध हुनेक्रम जारी छ, रहिरहन्छ । एमालेलाई व्यवस्थित गर्न सक्यौं भने मुलुक चलाउन एमाले पर्याप्त छ । हामीभित्र कमजोरी छन् भने हामीले त्यो काम गर्न सक्दैनौं । इतिहासका शिक्षा र कमजोरीबाट सिक्दै एमाले अघि बढ्नुको विकल्प छैन । रुपान्तरणको आन्दोलनप्रति सबैको प्रतिवद्धता हुनुपर्छ, त्यो ममा पनि हुनुपर्छ । पद गौण कुरा हो । यसको अर्थ पद नै राख्नु हुन्न भन्ने होइन । तर सबैलाई पदमा राख्न पनि सकिदैन । पदमा रहेर वा नरहेर देश र जनताको पक्षमा कटिवद्ध भएर काम गर्न सकिन्छ ।

मापदण्ड बनाऔं
एमालेको नेता हुनका लागि के योग्यता चाहिन्छ ? त्यो मापदण्ड बनाऔं । त्यो मापदण्डमा पर्ने स्वतः नेता हुने विधि बस्छ । महाधिवेशनबाट हामीले दिनसक्ने एउटा सन्देश यो पनि हो । यसले पार्टीलाई बढी लोकतान्त्रिक बनाउन सहयोग गर्छ भन्ने मलाई विश्वास छ । के हामी त्यसो गर्न तयार छौं ? तर तयार हुनैपर्छ । एउटा मापदण्ड नहुने हो भने पार्टीभित्र पदका लागि झमेला जहिले रहिरहन्छ । र यो झमेलाले पार्टीलाई लोकतान्त्रिक होइन अलोकतान्त्रिक बनाउँछ । हामी सबैले यसमा ध्यान दिनुपर्छ । अहिले हाम्रो अगाडि दशौं महाधिवेशन आइसक्यो । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न लाग्नुछ । महाधिवेशनबाट साँच्चै एकतावद्ध एमालेको सन्देश दिनुपर्छ । यही आजको आवश्यकता हो ।