अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डेलिगेट भण्डारीलाई विद्यावारिधि

डेलिगेट भण्डारीलाई विद्यावारिधि


वाशिङ्टन डिसी – अमेरिकाको मूलधारको राजनीतिमा सक्रिय नेपाली मूलका पहिलो डेलिगेट ह्यारी भण्डारीले युनिभर्सिटी अफ मेरिल्याण्डबाट विद्यावारिधि गर्नुभएको छ । मङ्गलबार विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहमा भण्डारीलाई विद्यावारिधिको उपाधि प्रदान गरेको हो । आफनो जन्मभूमिप्रतिको सम्मान प्रकट गर्न भण्डारीले नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएर उपाधि ग्रहण गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रेसिडेन्ट फ्रिम्यान ए. ह्रयास्बोस्कीले डेलिगेट भण्डारीलाई डाक्टर भण्डारीका रूपमा परिचय गराउँदै  मेरिल्याण्ड राज्य संसद्का एक प्रभावकारी डेलिगेटका रूपमा आफनो भूमिका निर्वाह गर्न भण्डारी सफल हुनुभएको भनेर उच्च प्रशंसासमेत गर्नुभएको थियो ।

अमेरिकाको मेरिल्याण्ड राज्यको संसद्मा डेमोक्रयाट पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नुहुने ह्यारी राज्यसभामा रहेका डेलिगेटहरुमा थोरै विद्यावारिधि गर्नेमध्ये एक भएको बताउँदै उहाँले आफ्नो समुदायसँग सम्बन्धित विषयमा अनुसन्धान गरी अमेरिकी प्राज्ञिक क्षेत्र र आफ्नो समुदायप्रति ठूलो गुन लगाएको प्रेसिडेन्ट ह्रयास्बोस्की टिप्पणी गर्नुभएको थियो । अमेरिकाको प्राज्ञिक क्षेत्रकै एक सम्मानित व्यक्तित्वका रूपमा ह्रयास्बोस्कीको परिचय रहेको छ । 

दीक्षान्त समारोहपछि संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भन्नुभयो, ‘एक आप्रवासीका रूपमा सजाएको एउटा ठूलो सपनालाई विपनामा परिणत गर्न पाउँदा हर्षको अनुभूति भएको छ । भण्डारीले अमेरिकामा नेपाली अमेरिकीहरुको राजनैतिक सहभागिता र भाषिक समावेशीकरणको विषयमा शोध गर्नुभएको थियो ।‘

भण्डारीले आफूले छनोट गरेको विद्यावारिधिको विषय अरूभन्दा भिन्न र अमेरिकामा रहेका नेपालीका लागि विशेष भएको बताउँदै भन्नुभयो, ‘मैले अमेरिकामा रहेका नेपालीको राजनीतिक सहभागिता र भाषिक एकीकरणमाथि गहिराइमा पुगेर अनुसन्धानात्मक अध्ययन गरेर त्यसको निष्कर्ष प्रस्तुत गरेको छु । मेरो विद्यावारिधि त्यही निष्कर्षको प्रमाणित रूप हो ।‘

नेपालको पर्वत जिल्लाको शङ्करपोखरीमा जन्मनुभएका भण्डारीले आफ्नो सुरूआती शिक्षा आफ्नै हजुरबुबाले गाउँमा स्थापना गरेको सरकारी विद्यालयबाट सुरू गर्नुभएको थियो । भण्डारीले गाउँमै माध्यमिक शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि पोखरा र पछि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गर्नुभएको छ ।