अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हत्या आरोपमा युवक पक्राउ

हत्या आरोपमा युवक पक्राउ


बैतडी – हत्याको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐर रहेका छन् ।

सिगास–८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको भन्दै रमेशलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । रमेशलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ गते मृत फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएकाले कटकको हत्या गरिएको भन्दै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पक्राउ परेका रमेश घटना भएको भोलिपल्टदेखि फरार रहेकाले उनीमाथि प्रहरीले निगरानी बढाएको र पक्राउ गरेर ल्याएपछि उनले कटकलाई कुटपिट गरेको स्वीकारेका छन् ।

प्रहरी निरीक्षक शाहीले भन्नुभयो, ‘कालपोखरी मेलामा रमेश र कटकको  भेट भएको र भेट हुँदा कटक बोहराले रमेशसिंह ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिको समयमा कटक र रमेशबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।’ इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका रमेशमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।