अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो


बैतडी – भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

विगत १५ दिनयता प्रदेशमा सात हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ ।  स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार  गत पुस २८ गतेदेखि हालसम्म सात हजार ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा सङ्क्रमणका कारण थप सात जनाको ज्यान गएको निर्देशनालयले जनाएको छ ।

पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा सङ्क्रमण देखिएकामा हाल त्यो सङ्ख्या बढेर ५६ हजार ७९७ पुगेको छ। मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो ।  हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलङ्गा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ ।

भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले सङ्क्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षण बढेकाले सङ्क्रमणदर पनि बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले सङ्क्रमणदर बढेको हो ।’

भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यस प्रदेशमा मङ्गलबार चार जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ । उहाँले भन्नुभयो, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौँ ।’

सीमानाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । यसका साथै कोभिड–१९ सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म चार लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ ।