अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

८ मार्च : सबैका शारदा दिदी

८ मार्च : सबैका शारदा दिदी


महोत्तरी – शारदादेवी थापालाई एक पटक भेटेका मानिसले कहिल्यै बिर्सदैनन् । निकै साधारण जीवनसैली, सबैसँग मिठो बोलीवचन, सहयोगी र सबैसँग मित्रवत व्यवहारका कारण उनीसँग एकपटक भेट्नेले सधै सम्झिरहन्छन् ।

अन्याय सहनै नसक्ने, चित्त नबुझ्दा तुरुन्त प्रतिवाद गर्ने उनको स्वभावले जिल्लामा उनको इज्जतनै भिन्न छ । उनको नाम भन्नासाथै उनको व्यवहार धेरैको आँखाअघि मडारिन थाल्छ ।

को हुन् शारदादेवी थापा ?

धेरैले उहाँलाई नेकपा एमालेकी नेतृ भनेर चिन्छन् । जसले जसरी चिने पनि महोत्तरीका जनताले जिताएका प्रदेश सभा सदस्य हुन् शारदादेवी थापा ।

अधिकांश जनप्रतिनिधिले निर्वाचनका बेला गरेका प्रतिबद्धता सायद भुलिसके होलान् । कति त आफैलाई बदनाम गरी बेपत्ता नै भएका छन् । तर, शारदा थापाले साढे चार वर्षमा निर्वाचनका बेला गरेका आफ्ना प्रतिबद्धता एक दिन पनि नभुलेको बताउनु भयो ।

पाँच वर्षअघि र अहिले निकै परिवर्तन भइसकेको उहाँले महसूस गर्नु भएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएपछि उहाँले सामाजिक परिवर्तनलाई विशेष जोड दिनुभयो । यस क्षेत्रअन्तर्गत वर्दिबास नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्म र भंगाहा नगरपालिकाको वडा नम्बर ३, ४, ५ र ९ पर्छ ।

यो अवधिका उहाँले विशेषगरी अन्धविश्वासको भूमरीमा रहेका महिलालाई ससंक्त बनाएउने प्रयास गर्नुभयो । उहाँले बोक्सीको आरोपमा सामाजिक बहिष्कारदेखि अभद्र व्यवहार र दाइजो प्रथाका कारण प्रताडित बनेका महिलालाई ससक्त बनाउन विभिन्न तालिम र अभियान चलाउनु भएको छ ।

संसद विकास कोषबाट करीब पाँच वर्षको अवधिमा झन्डै ६ करोड जिल्ला खर्च गर्नु भएको छ । यो रकमको केही हिस्सा महिलाले नेतृत्व गरेको महिला सहकारीमा समेत खर्च गरिएको छ । साथै, महिलालाई उद्यमी बनाउने, महिला उद्यमका विविध तालिम संचालन गर्नुभयो । यति मात्रै होइन ६ करोडबाटै सात वटा विद्यालयमा भवन बनेका छन्, करीब १० किलोमिटर सडक निर्माण भएको छ ।

आज २१३औँ अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा आफ्नै निर्वाचन क्षेत्रमा दाइजोको नाममा, बोक्सीको आरोपमा प्रताडित बनिरहेको, मजदुर महिलाहरू ज्यालामा ठगिएको, बेचबिखनमा परेको देख्दा सुन्दा निकै पिरोल्ने गरेको उहाँले बताउनु भएन । तर, तुलनात्मक रुपमा केही परिवर्तन भने आएको थापाको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, ‘घुम्टोले मुख छोप्ने महिला अहिले घुम्टो उघार्न सक्ने भएका छन्, घरेलु हिंसाविरुद्ध आवाज उठाउन सक्ने भएका छन्, विद्यालयमा किशोरी र महिलाको संख्या बढीरहेको छ ।’

मधेश प्रदेश सभामा ३७ जना महिला र ७० जना पुरुष छन् । ३७ जना महिलामध्ये पनि कतिपय ‘नाता’, ‘कृपा’को कोटामा परेका छन् ।

नेकपा एमाले मधेश प्रदेशका महिला सचेतक समेत रहेका थापा अहिले महिलाको आदर्श मात्र हैनन् सवै महिलाको साथी बन्नु भएको छ । थापालाई सबैले दिदी भनेर बोलाउँछन् । थापा जस्तै हरेक महिलाले साहस र उत्साह राख्ने हो भने परिवर्तन निकै नजिक छ ।