अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘जालझेलले एक पटक जित्न सकिएला, सधैं कहाँ त्यस्तो हुन्छ र ?’: देवी ज्ञवाली

‘जालझेलले एक पटक जित्न सकिएला, सधैं कहाँ त्यस्तो हुन्छ र ?’: देवी ज्ञवाली


स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । मेयर भन्ने वित्तिकै आम मानिसहरुले दुईवटा अनुहार सम्झिन्छन् । एउटा काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापित र अर्का भरतपुरमहानगरका पराजित मेयर देवी ज्ञवाली । स्थापितको मिजास कडा छ भने ज्ञवाली अत्यन्तै नरम । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादीले मत पत्र च्यातेर र चपाएर हराएका एमालेका पोलिटव्यूरो सदस्य ज्ञवाली यसवर्ष पनि मेयरको दौडमा हुनुहुन्छ । पाँचवर्ष अघि माओवादीले जालझेलपूर्ण ढंगले आफूलाई हराएको बताउने ज्ञवाली भन्नुहुन्छ ‘जालझेलले एक पटक जित्न सकिएला तर सधैं कहाँ त्यस्तो हुन्छ र ?’

ज्ञवालीसँग यो बेलाले स्थानीय तहको निर्वाचनका विविध विषयमा कुरा गरेको छ । प्रष्तुत छ कुराकानीको सम्पादित अंश :

तपाईं यसपाली पनि मेयरको उम्मेद्वार बन्ने होला नि ?

हाम्रो पार्टीबाट भरतपुर महानगरको मेयरका लागि तीनजनाको नाम अहिले चर्चामा छ । प्रदेश अध्यक्ष, वर्तमान साँसद कृष्णभक्त पोखरेल र म देवी ज्ञवाली । पार्टीका स्थानीय कमिटीहरुले सिफारिस गर्लान् र केन्द्रले न्यायोचित निर्णय गर्ला भन्ने मेरो अपेक्षा छ ।

माओवादी, काँग्रेस र नेकपा एसको गठबन्धनको हल्ला छ । चुनाव जितिएला त ?

भरतपुर एमालेका लागि गठबन्धन नौलो कुरा होइन । हामीले २०७४ सालमा नै माओवादी र काँग्रेसको गठबन्धनलाई हराएको हो । तर जालझेलपूर्ण षडयन्त्र गरेर माओवादी उम्मेद्वारले जितेको घोषणा गरिएको हो । यसपाली हामी त्यसो हुन दिन्नौ । जत्रोसुकै गठबन्धन बने पनि एमालेका उम्मेद्वारले भरतपुरमा शानदार ढंगले चुनाव जित्छन् । किनकि जालझेलले एक पटक पो जितिएला सधैं त जितिदैन नि ! मतपत्र च्यातेर, चबाएर चुनाव जबरजस्ती आफैंले जितेको घोषणा गरेको कुरा यहाँका मतदाताले बिर्सेका छैनन् । त्यसैले यस पटक मतदाताले न्याय गर्छन् ।

अर्कोतिर अहिले देशव्यापी रुपमा  गठबन्धनका बारेमा आम रुपमा जनताका बीचमा राम्रो सम्बन्ध छैन । जनतालाई नयाँ इस्यूजहरु केही पनि डेलिभरी भएको छैन । महंगी थामिनसक्नु छ । सामान्य मान्छेले जीवनयापन गर्न सक्ने अवस्था छैन ।

अहिलेका मेयरले त विकास हेर्न भरतपुर आउनु भन्नुहुन्छ नि ? उधुम विकास भएको हो र भरतपुरमा ?

हामीले महानगरलाई जुन ढंगले उचाइमा लैजाउँला भनेर सोचेका थियौं त्यो ढंगको सपना हामीले पूरा गर्न पाएनौ तर जो आएका छन् उनीहरुले पनि लगिदिएको भए जनताको समस्या त हल हुन्थ्यो । तर ती कुराहरु केही हल भएन । हामीले नारायणी नदी मामाथिको पुल जीर्ण भएको छ । त्यसको विकल्पको रुपमा पश्चिम चितवनमा तीनवटा पुल बनाउँ भन्ने योजना थियो । महानगरपालिकाले योजना बनाउनुपथ्र्यो त्यसलाई अगडी बढाउनुपथ्र्यो । अहँ एउटा सिन्को भाँच्ने काम पनि भएन । जनताका सापनाहरु अधुरै रहेका छन् ।

केपी ओली प्रधानमन्त्री भएका बेला गोन्द्राङ देखि पुल्चोकसम्मका लागि साढे ६ अर्ब छुट्याइएको हो पूर्वाधारका लागि । त्यो केपी ओलीको नेतृत्वले छुट्याएको पैसा थियो ।  २ अर्ब रुपैंया सिटी हलका निम्ति छुट्याएको हो । त्यो प्रधानमन्त्री केपी ओलीले नै छुट्याइदिनु भएको हो । त्यस्तै सहरी विकास योजनाबाट केही सडकहरुमा रकम विनियोजन भएको छ ।

विकासको मोडल हेर्न के भरतपुर जानु ? चितवनमा सातवटा स्थानीय तह छन् । सातमध्ये भरतपुरको पोजिसन के हो हेरे भइगो नि । चितवनका सातमध्ये सबभन्दा कमजोर पोजिसन भरतपुर महानगरको छ । सरकारले मूल्यांकन गर्ने निकाय छ त्यसमध्ये एउटा सामान्य स्रोत भएको राप्ती नगरपालिका शिक्षा, विकास, स्वास्थ्य, बालबालिकाको सवालमा उत्कृष्ट पुरस्कार पाउँछ ।

हामीले देखेका छौं खैरेनी नगरपालिका महानगरका स्रोत साधनका आँखाका हिसाबले सामान्य स्रोत साधन भएको नगरपालिका हो । त्यो जिल्लाका सातवटा पालिकामध्ये अगाडी छ । यत्रो स्रोत-साधन विन्यास हुँदा पनि सुशासनको आँखाले कहाँनेर हेरियो ? त्यसको सदुपयोग भएको रेर्कड कहाँ छ ? बाहिर देखिएका  दुईचार वटा कालोपत्र देखाएर विकासको मोडल हेर्न आउनु भनेर हुन्छ ? त्यो कालोपत्रे पनि केपी ओली नै बजेट छुट्याइदिएर हो ।

केपी ओली प्रधानमन्त्री भएका बेला गोन्द्राङ देखि पुल्चोकसम्मका लागि साढे ६ अर्ब छुट्याइएको हो पूर्वाधारका लागि । त्यो केपी ओलीको नेतृत्वले छुट्याएको पैसा थियो ।  २ अर्ब रुपैंया सिटी हलका निम्ति छुट्याएको हो । त्यो प्रधानमन्त्री केपी ओलीले नै छुट्याइदिनु भएको हो । त्यस्तै सहरी विकास योजनाबाट केही सडकहरुमा रकम विनियोजन भएको छ । त्यो कार्यन्वयन अहिले भएको मात्र हो । यस अर्थमा सबै केन्द्रीय सरकारका योजना सञ्चालन गर्ने अनि आन्तरिक स्रोत कति परिचालन गरेर कहाँ के गरियो ? आन्तरिक स्रोतको व्यवस्थापन के गरियो ? नयाँ उद्योग व्यावशाय के थप गरियो ? यी सबै पक्षमा के काम भएको छ ? जनताले महानगरको नेतृत्वलाई यो कुरा सोध्नेछन् ।

त्यसो भए विकासको मोडल हेर्न भरतपुर आउनु परेन ?

विकासका कुरा त छाडिदिंउ । बरु प्राकृतिक दोहन भएको छ भरतपुरमा । नारायणी नदीबाट बालुवा गीटी झिक्न दिएर सबै पश्चिम चितवन डुबाउने र बगाउने स्थिती महानगरको नेतृत्वले गरेको छ । त्यसले गर्दा भरतपुरले कहाँनेर प्रगतिको काम भएको छ ? भरतपुरको विनास हेर्न आउनुहोस । यसलाई फोटो, भिडियो खिचेर राख्नुहोस । हाम्रो नेतृत्व आएपछि यी सबै कुरालाई कसरी व्यवस्थित गर्छौं । त्यसको तुलना गर्नुहोस ।

एमालेका चुनावी एजेण्डा के हुन् त भरतपुरमा ?

पहिलो कुरा त महानगरमा भएको अनियमितताको भण्डाफोर गर्नुपर्दछ । जनताले पाँच वर्षमा कति कर तिरे र त्यो कर तिरेको पैसा कहाँ खर्च भयो भनेर खोज्नु पर्दछ । हामी  शुसासनलाई पहिलो चुनावी एजेण्डा बनाउछौं  । अर्को महानगरको समुचित विकासका लागि  स्रोत र साधनको समानुपातिक वितरण अर्को एजेण्डा हो  । महानगरमा माओवादीको परिवारवादको साङ्लो तोड्न सबै जनता एकजुट हुनु जरुरी छ । लोकतन्त्र कुनै एउटा परिवारलाई समुन्नत बनाउन ल्याइएको होइन । त्यो कुरा भरतपुरका जनताले राम्ररी बुझेका छन् । यसको हिसाब किताव चुनावमा दिन्छन् नै ।

भरतपुरमा केन्द्रीय सरकारको ४ अर्ब भन्दा केन्द्रीय फण्डबाट रकम आउछ । त्यसैगरी विभिन्न लाइन एजेन्सीबाट १४ अर्ब रुपैंयासम्म आउछ । आन्तरीक स्रोत त महानगरले बढाउनै सकेको छैन  । महानगरपालिका मार्फत गरिने कामका लागि स्रोत आएको हो । आन्तरिक स्रोत र बाहिरबाट आउने स्रोतको हिसाब गरियो भने भरतपुरको निराशाजनक चित्र देखापर्दछ । यस्तो स्थितिमा वडाहरुलाई बजेट दिने कुरा, अधिकार दिने कुरामा महानगर चुकेको छ । वडाको विकासमा रकम विनियोजित गर्ने कुरामा महानगर उदासिन छ । उदाहरणका लागि खैरेनी नगरपालिकाले एउटा वडालाई २ करोडसम्म विनियोजन गर्दछ तर महानगरले १ करोड ५० लाख रुपैंया मात्रै वडालाई बाँड्दछ । स्थानीय वडा, टोल विकास संस्थालाई समुन्नत गर्ने कुरामा महानगरको ध्यान छैन ।

अझ भनौं संघीयताको मर्मलाई भरतपुर महानगरको नेतृत्वले स्विकार गरेको छैन । नगरका योजनाहरुमा सिंगो जनतालाई परिचालन गर्ने कुरा महानगरको प्राथमिकतामा छैनन् । उपभोक्ता परिचलान गरेर,टोलहरु परिचालन गरेर समग्र विकासको नमुना लैजानु पर्दथ्यो । भरतपुर देशको मध्यभागमा पर्ने महानगर हो । प्राकृतिक रुपले ठूलो नदी नारायणीको किनारमा छ । ठूलो राष्ट्रिय निकुञ्जले घेरिएको ठाउँ छ । यस हिसाबले् पर्यटकीय विकासका लागि हाम्रा योजनाहरु कहाँनेर अगाडी बढाउने भन्ने भरतपुरको कुनै योजना छैन ।

यस पटक एमालेले चुनाव जित्छ त भरतपुरमा ?

त्यसमा शंका छैन । परिवारवादले स्वंय माओवादीका सर्वसाधारण कार्यकर्ता आजित छन् । गठबन्धन गरेर चुनाव जित्ने भोलीपल्ट देखि सहयात्री दललाई बिर्सेको चोट काँग्रेससँग छ । त्यसैले एक्ला एक्लै भिडे त के हुन्छ भरतपुरमा भनेर प्रधानमन्त्री शेरबहादुर देउवा कै मुखबाट सबैले सुनेकै छन् ।  एक पटक जालझेल गर्दैमा सधैं त्यस्तै जालझेल गरेर जित्न सकिन्छ भन्ने हुदैन। जनताले यो कुरा बुझीसकेका छन् । माओवादीको हातमा महानगर सुम्पिएर हामी पाँचवर्ष पछि प¥यौं भनेर आम मतदाताले भनेकै छन् ।  अबको निर्वाचन एमालेले जित्छ । एमालेले  अहिलेको महानगरको नेतृत्वले गरेको बिगारलाई सुधार गरेर   द्रुतगतीले काम गर्नेछ ।