अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ

बलात्कार आरोपी मनोज पाण्डे पक्राउ


काठमाडौं – ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन्। सामाजिक सञ्जाल हुँदै यो विषय राष्ट्रिय चासोको मुद्दा बनेपछि प्रहरीले कारबाही अघि बढाएको हो । 

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।