काठमाडौं-नेकपा एमालेले उच्च तहका नेतालाई समानुपातिकको सुचीमा राखेको छैन । आइतबार हिजो बसेको सचिवालय बैठकमा नेताहरूको नाममा छलफल भएपनि उच्च तहका नेता कोही पनि नसमेटिएको एमाले स्रोतको दाबी छ ।
एक पदाधिकारीका अनुसार २०६४ साल यताका निर्वाचनमा समानुपातिकमा परेका कसैलाई पनि दोहोर्याएर समानुपातिक सूचीमा राखिएन । यसैगरी अघिल्लो कार्यकालमा स्थानीय तहका प्रमुख वा उपप्रमुख भइसकेका नेताहरुलाई पनि समानुपातिकको सूचीमा नराखेको एमालेले जनाएको छ ।
‘यसपटक प्राय सबै नयाँ अनुहारलाई समेटिएको छ’, एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, ‘एमालेले यसपाली संसद्मा पठाउने अधिकांश अनुहार नयाँ हुने भए ।’ स्रोतका अनुसार सचिवालयले समानुपातिकको अन्तिम सूची तयारी गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमालले राती अबेरसम्म बसेर नामहरूलाई अन्तिम रूप दिनु भएको हो ।
समानुपातिकमा आ-आफ्नो क्लस्टरमा पहिलो नम्बर सूचीमा पर्ने भनेर चर्चा गरिएका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा कोही पनि परेका छैनन् । त्यसैगरी उपमहासचिव विष्णु रिमाल पनि समानुपातिक सूचीमा हुनुहुन्न । सचिवालयले २०६४ साल यताको निर्वाचनमा एक पटक समानुपातिकमा बसेका नेताहरुलाई नदोहोर्याउने नीति लिएपछि उहाँहरु उक्त सुचीमा अट्न नसकेको सचिवालयका एक नेताले बताउनभुभयो । यसैगरी समानुपातिक सुचीमा चर्चा गरिएका प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरे पनि समानुपातिकमा पर्नु भएन ।
आज दिउसो निर्वाचन आयोगमा नाम बुझाउने एमालेको तयारी छ । असोज १६ गतेसम्म आयोगले बन्द सूचीको नाम हेराफेरी गर्ने समय राखिदिएकोले केही नामहरू दुईहप्ताको समयमा फेरबदल भएपनि अधिकांश नाम सचिवालयको निर्णय बमोजिम नै हुने बताइएको छ ।







प्रतिक्रिया