अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई मतदान गरेर प्रधानमन्त्री बनाउने अवसर पाएकोमा झापा-५ का जनताले गौरव गर्नेछन्ः देवेन्द्र दाहाल

केपी ओलीलाई मतदान गरेर प्रधानमन्त्री बनाउने अवसर पाएकोमा झापा-५ का जनताले गौरव गर्नेछन्ः देवेन्द्र दाहाल


झापा – देवेन्द्र दाहाल नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुनुहुन्छ। उहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको २०४८ साल देखि नै चुनावी कमाण्डर हुनुहुन्छ । अध्यक्ष ओली देशव्यापी रूपमा चुनावी दौडाहामा रहँदा उहाँको निर्वाचन क्षेत्र झापा–५ को कमाण्ड दाहालले नै सम्हाल्नु भएको छ। अध्यक्ष ओलीको प्रतिनिधिको रूपमा उहाँले क्षेत्रमा मात्र होइन जिल्लैभरिका आमसभामा व्यस्त हुनुहुन्छ । व्यस्तताका बीच दाहालसँग चुनावी तयारीका बारेमा टिकाराम उप्रेती, सरोज चौलागाईं र भूमीराज पराजुलीले अन्तर्वार्ता गर्नुभएको छ । प्रस्तुत छ दाहालसँगको अन्तर्वार्ताको अंश:

झापाको निर्वाचन क्षेत्र–५ देशव्यापी चर्चाको क्षेत्र हो । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले पनि यो महत्वपूर्ण छ । यही निर्वाचन क्षेत्रको कमाण्डर भएर तपाईंले ओलीलाई जिताउने जिम्मा लिनुभएको छ। निर्वाचनको संघारमा आइपुग्दासम्म तपाईंहरूले अध्यक्ष ओलीको पक्षमा कसरी माहोल सृजना गर्नुभएको छ ?

हामीले प्रारम्भिक चरणमा संगठनात्मक कामहरू ग¥यौं । प्रचार समिति बनाउने र ती प्रचार समिति पनि टोलटोलसम्म पनि बनायौं र जिम्मेवारी पनि तोक्यौं । यो क्षेत्रमा बसोबास गर्ने माथिल्लो कमिटीका साथीहरूको जिम्मेवारी हामीले बाँडफाँड ग¥यौं । झापा क्षेत्र–५ मा २९ वडा छन् र ६१ वडा बुथ छन् । पहिले वडा केन्द्रीत काम गरेका थियौं भने अहिले बुथ केन्द्रीत काम गरिरहेका छौं ।

पार्टीभित्र आन्तरिक रूपमा जिम्मेवारी बाँडफाँड पनि गर्नुभयो तर पार्टीभित्रै देखिने गरेको विवादलाई आफ्नो पक्षमा पार्न के गर्नु भएको छ ?

यो महत्वपूर्ण प्रश्न हो । आन्तरिक विवाद भयो भने निर्वाचन जित्न असजिलो हुन्छ । त्यसले गर्दा पनि आन्तरिक विवादहरू पनि हामी समाधान गर्नका लागि कहाँ कस्ता खालका विवादहरू छन्, कसले कहाँ असन्तुष्टि गरिराखेको छ, पहिलो त्यसको पहिचान गर्ने र त्यहाँ कसले कुरा गर्दा हुन्छ र के कुराको सम्बोधन गर्नुपर्ने हो भन्ने विषयमा हामी कार्यविभाजन गरेर काम गरिराखेका छौं। अर्को, प्रारम्भिक रूपमा आन्तरिक संगठनको कुरा गरें । त्यसपछि उम्मेदवारसहित र उम्मेदवार बाहेक घरदैलो कार्यक्रम भनेर कार्यक्रम हामीले गरेका छौं । जहाँ जहाँ उम्मेदवारको कार्यतालिका हुन्छ, त्यहाँ साथीहरूलाई लिएर उम्मेदवार हिँड्नुहुन्छ र जहाँ उम्मेदवारको कार्यतालिका हुँदैन, त्यो ठाउँमा हामीले समूह विभाजन गरेका छौ र हरेक जनताको घरमा जाने, नेकपा एमालेको पक्षमा मत माग्ने, यसरी हामीले काम गरिराखेका छौं ।

२०६४ को अपवाद छोडेर यस क्षेत्रका जनताले केपी शर्मा ओलीलाई २०४८ साल देखि नै विजयी बनाउने गरेका छन् । ओलीलाई यस क्षेत्रका बासिन्दाले त्यति धेरै रूचाउनुको कारण के हो ?

जनताले एकथान मान्छे निर्वाचित गरेर पठाउने मात्र होइन । जनताले काम हेर्ने हो । यो क्षेत्रका जनताले धेरै लामो समयदेखि हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नै जिताएर पठाएका हुन् । सरकार बाहिर रहंदा पनि उहाँले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । सरकारमा हुँदा यो क्षेत्रको विकास मात्रै होइन, देशभरिको विकासका लागि महत्वपूर्ण कामहरू गर्नु भएको छ । ती कामहरू गरेर जनताले उहाँलाई पटक–पटक मत दिंदा गुनासो र पछुतो मान्नु पर्ने स्थिति छैन । अझै उत्साहित भएर उहाँले गरेका विकास निर्माणका कामहरू र उहाँले गर्नुभएका समृद्धिका अभियानहरू, राष्ट्रियताको पक्षमा उहाँले खेल्नु भएका भूमिका लगायत यी सबै कारणले गर्दा उहाँलाई जनताले पटक पटक भोट दिँदा पनि केपी ओलीलाई  पटक पटक भोट किन दिनुपर्ने भनेर जनताले प्रश्न गर्नुपरेको छैन।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि यस क्षेत्रमा भएका उपलब्धि अथवा विकास के–के हुन् ?

उहाँले प्रधानमन्त्री हुँदा यहाँ गरेका विकास निर्माणका काम अनगिन्ती छन् । यो क्षेत्रमा पहिले उहाँ निर्वाचित हुँदा बिजुली पनि थिएन । उहाँले बेलाबेलामा भाषणमा पनि भन्नुहुन्छ, यो फलानो ठाउँमा हामीले पेट्रोलमेक्स बालेर कार्यक्रम गरेका थियौं भनेर । यहाँ बाटो थिएन, भएका बाटाहरू पनि कालोपत्रे थिएनन्, कालोपत्रे सडक हेर्न राजमार्ग पुग्नु पर्दथ्यो भनेर उहाँले भन्नुहुन्थ्यो । त्यो कुरा सही हो, पहिले गाउँघरमा कालोपत्रे सडक थिएन । तत्कालका लागि भन्ने हो भने पाडाजँुगीदेखि गौरीगञ्जसम्मको बाटो चार लेनको सुरू भइसक्यो । सेतुमारी हाइवे, हिमाविदेखि उत्तर जाने बाटो कालोपत्रे गरिएको छ । कृष्ण मन्दिरदेखि उत्तरतिर जाने बाटो कालोपत्रे गरिएको छ, दमकका अहिले चक्रपथ छ । त्यो उहाँको अवधारणाबाट आएको हो । त्यो चक्रपथ अब पूरा हुन लागेको छ । कोहबरा हुँदै दामुना, दामुना हुँदै खजुरगाछीसम्म जाने बाटो धेरै कालोपत्रे हुने क्रममा छ । सडक पुलको कुरा गर्दा उहाँ सुरूमा उठ्दा दुईवटा मात्र पुलहरू थिए । त्यो पनि राजमार्गका । तर अहिले ५/६ वटा पुलले दमकलाई जोडेको छ । मधुमल्लादेखि दमकसम्म आउने पुलको कुरा गरौं अथवा कोहबरादेखि दमकतिर जोड्ने पुल, मोरङ जोड्ने पुल, दमकको एक नम्बरबाट सिम्ले जोड्ने पुल यी सबै पुल उहाँको पालामा उहाँले नै शिलान्यास गर्नु भएको हो । उहाँकै पालामा यी पूरा भएका हुन् । यहाँ ठूलो औधोगिक पार्कको कुरा छ । त्यसको सबै कामहरू अगाडि बढिराखेको छ । अहिले मुआब्जा वितरण भइरहेको छ । केही समस्याहरू पनि छन्, त्यसलाई हामीले समाधान पनि गर्छौं । औद्योगिक पार्क अगाडि बढाउँछौं । त्यो उहाँकै पालमा भएको हो। धेरैले भ्यू टावर भनेर हल्ला पनि गरे, तर त्यो व्यापारिक टावर हो । त्यो १८ तलाको निर्माण हुँदैछ । टुप्पोमा गएर हेर्न मात्र बनाएको होइन । त्यहाँ धेरै खालका व्यापारिक गतिविधि हुनेछन् । आसपासमा होलटहरू खोल्ने, रेष्टुराहरू खोल्नेदेखि थुप्रै व्यापारिक गतिविधि सुरू भइसकेका छन् । ३ हजार मान्छे बसेर कार्यक्रम गर्न सक्ने सिटी हल पूरा भइसकेको छ । बाटाघाटादेखि पुलसम्म, भ्यू टावर, सिटी हल जस्ता महत्वपूर्ण कामहरू उहाँले नै गर्नु भएको थियो ।

क्षेत्र–५ को भूगोल फराकिलो छ, दमकमा मात्र विकास केन्द्रीत भयो तर दक्षिण भेगमा अलिक विकास भएन भन्ने गुनासोहरू पनि छन् । आगामी दिनमा दक्षिण भेगमा के कस्ता योजनाहरू विस्तार गर्ने तयारी छ ?

यो गुनासो अलि अलि छ । तर गुनासो नै गर्नु पर्नेगरी काम नभएको होइन । गौरादहको डिपुचोकदेखि पश्चिमपट्टि र ग्वालडुब्बादेखि पूर्व र पश्चिमतिरको सडकमा हेर्नु भयो भने कालोपत्रे देखिन्छ । गौरीगञ्जको कुरा गर्दा त्यहाँ समग्र हुलाकी राजमार्गको कुरा छ । हुलाकी राजमार्गले हाम्रो क्षेत्र पनि छोएको छ । अहिले हेर्ने हो भने गौरीगञ्जको मुहारमा नै परिवर्तन आएको छ । बीचमा भएका आग्ला बाटाहरू पनि कालोपत्रे हुन  लागेका छन् । कतिपय ठाउँमा तयारी पनि भइराखेको छ । यस क्षेत्रका उम्मेदवार हाम्रो पार्टीका अध्यक्षले के भन्नुहुन्छ भने, अब खोला खोज्नुस् ! त्यसकारणले चाहे सानो कल्भटको कुरा होस् चाहे ठूलाठूला पुलहरूको कुरा होस् । त्यो हामीले गरिराखेका छौं । त्यसकारण  दमकतिर मात्र विकास भयो भन्नु त्यति सान्दर्भिक हुँदैन । क्षेत्रका सबै ठाउँमा कामहरू भइराखेको छ । मदन भण्डारी रंगशाला बनाउने भनेर कमलको लखनपुरमा हामीले सोचेका थियौं । त्यहाँ विवाद भएर त्यहाँ रंगशाला बनाउन सकिएन । तर, त्यो रंगशाला पनि हामी बनाउँछौं । त्यहाँका जनताको माग र इच्छा अनुसार र नामको विवाद छ । त्यसलाई पनि हामीले समाधान गरेर त्यो रंगशाला पनि बनाउँछौं। सबै पालिकाहरूमा रंगशाला निर्माण गर्ने हाम्रो योजना रहेको छ । ठूलो आयोजना बनाउने सन्दर्भमा हामीले गौरीगञ्जमा स्मार्ट सिटी घोषणा गरेका छौं । त्यो निर्माण प्रक्रियामा छ । त्यसले गौरीगञ्जको मुहार नै फेरिएको छ । त्यसकारण मलाई लाग्छ, धेरै गुनासो गर्नुपर्ने ठाउँ छैन । अहिले विपक्षीहरूले गौरीगञ्जको पश्चिमतिर रहेको एउटा पुल देखाउँदै केपी ओलीले यो पुल बनाएन भनेर भनेका छन् । तर, त्यहाँ केन्द्रबाट मन्त्रालयको सचिव र महानिर्देशकलाई यो पुल तत्काल बनाउन प्रधानमन्त्री भएका बेला निर्देशन पनि दिनु भएको थियो । केपी ओलीले पुल बनाएन भन्नेहरूले पनि छ १६ महिना सरकार सञ्चालन गरे, यो १६ महीनामा यो पुल किन बनाएनन् त ? अहिले यो पुल केपी  ओलीले बनाएन भनेर देखाउनका लागि नबनाएको हो त ? भन्ने पनि प्रश्न छ । हामीले समग्र रूपमा भन्दा सन्तुलित ढंगले विकास निर्माणका काम यस क्षेत्रमा गरेका छौं । केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकाले विकास निर्माणका थुप्रै काम गरेको थियो । जति काम बाँकी छन्, तिनीहरूलाई पनि हामी भोलि गर्छौं भनेर जनतासँग प्रतिबद्धता व्यक्त गरेका छौं र हामी गर्छौ पनि ।

रंगशाला आदिवासीकै नाममा बन्छ ?

रंगशाला बनाउने कुरामा प्राविधिक समस्या भएको छ । त्यहाँका केही मान्छेहरू भेला भएर आदिवासी रंगशाला भनेर नामाकरण गर्नु भएछ । त्यहाँ समाधीस्थल भएका जनता पनि हाम्रै थिए । जसका समाधीस्थल छन् । उहाँका आफन्त जीवित जनता पनि हाम्रै मान्छे हुन् । त्यसकारणले हामीहरूले उहाँहरूप्रति कुनै पुर्वाग्रह राख्नु पर्ने जरूरी छैन । तर यहाँ राजनीति गरियो । आदिवासी रंगशाला भनेर नामाकरण गर्ने, सबै पक्षलाई त्यसमा नसमेट्ने, केही मान्छेहरू भेला हुने र उपभोत्ता समिति जस्तो बनाउने र त्यसलाई नै रंगशाला बनाउँछ भनेर एउटा जनतामा भ्रम फैलाउने काम गरियो । नेपाली कांग्रेसका मान्छेहरूले यसमा भ्रम छरेका छन् र माओवादीले यसलाई झन् उचालेर लगेको छ । हामी त्यहाँ आदिवासी रंगशाला नै बनाउँछौं । सबै जनताको सहमति चाहिँ हुनुपर्दछ । जनताको चाहना र इच्छा अनुसार हामी बनाउँछौं भनेर हाम्रो उमेदवारहरूले पनि भन्नु भएको छ । हामीले पनि त्यसमा पहल गर्नेछौं। एउटा हल्ला फैलाएका छन्, त्यहाँको रंगशाला दमक लगियो भनेर, त्यो होइन । रंगशाला त्यहीँ बन्छ ।

रतुवा खोलामा तटबन्ध नभएर धेरै मान्छेलाई असर गरेको छ । यसको तटबन्धनका लागि के कति कामहरू भइराखेका छन् ?

यहाँका जनताका लागि रतुवा खोला धेरै समस्याको विषय हो । दुवै तिरका जनतालाई विस्थापित गराउने काम यो खोलाले गरेको थियो । तटबन्धनका लागि एडीबिको ऋणमा काम भइराखेको छ । अहिले बिस्तारै बिस्तारै नियन्त्रण हुँदै आएको छ र केही समयदेखि विस्थापित हुनेहरूको संख्या विस्तारै न्यून हुँदै आएको छ । त्यो भनेको हामीले योजनाबद्ध ढंगले तटबन्धनको काम अगाडि बढाएका छौं । तटबन्धन उत्तरतर्फबाट क्रमशः बनाउँदै लाने र भारतको सीमानासम्म दुवैपट्टि यसलाई बाँध्ने, खोलाको दुवै छेउमा बाटो र हरियाली बनाउने योजनाका साथ हामीहरू अगाडि बढेका छौं । यो हाम्रै अवधारणा हो र हामीले यो गरिराखेका छौं । धेरै नियन्त्रण भइसकेको छ र अझै पनि समस्याको रूपमा रहिराखेको छ । यसलाई योजनाबद्ध ढंगले काम अगाडि बढाइसकेको अवस्था छ र अहिले धमाधम काम पनि भइराखेको छ ।

जनतासँग जोडिने कतिपय योजनाहरू पनि बने, जनताले घर पाउने र छानो फेर्ने कुरा क्षेत्र–५ मा कतिको प्रभावकारी भयो ?

कमरेड केपी शर्मा ओलीकै नेतृत्वको सरकारले सुरू गरेको कार्यक्रम हो–विपन्न अवास । त्यसअन्तर्गत हामीले विपन्नलाई दमकमा, कमल गाउँपालिकामा, गौरादहका केही ठाउँमा त्यो हामीले सञ्चालन ग¥यौं । तर आवास बनाएर दिएर मात्रै तात्विक फरक हुने रहेनछ । किनभने, उनीहरूले घर त पाए, तर घरमा बसेर उनीहरूले के गर्ने ? रोजगारी सरकारले उपलब्ध गराउन पनि सकेको छैन । अब त्यहाँ रोजगारी पनि दिनु पर्ने रहेछ । मान्छेलाई कामको अवसर पनि चाहिने रहेछ, आयआर्जनको माध्यम पनि चाहिँदो रहेछ भन्ने कुरा हामीले महशुस गरेका छौं । विपन्न आवास कार्यक्रम सफल नै भएको हो । घर जनतालाई निशुल्क बनाएर वितरण गरेका हौं । जसको घरमा फुसको छाना थियो, त्यसलाई हामीले जस्तापाताले विस्थापित गरेका छौं ।

एमलेको सरकार बनेपछि हामीले सुकुम्बासी समस्या समाधान गर्न वा अव्यवस्थित बसोबासलाई समाधान गर्न हामीले के काम गर्छौं ? 

यसमा कानूनी अल्झन धेरै छन् । स्थानीय तहको अधिकारको सूचीभित्र जग्गाधनी वितरण गर्ने भन्ने छ। त्यो त भनेको छ तर स्थानीय सरकारले नाप्न पाउने हो कि होइन अथवा उसले धनीपूर्जा वितरण गर्न पाउने हो कि होइन भन्ने कुरा स्पस्ट नहुँदा यो स्थानीय तहको अधिकार होइन भन्ने कुरा आयो । हाम्रो क्षेत्रमा कमल गाउँपालिका पनि हामीले  जितेका थियौं, दमक नगरपालिका पनि हामीले जितेका थियौं । त्यो हामीले जितेका ठाउँमा हामीले काम थालनी पनि गरेका थियौं । दमकमा आयोग बनाएर त्यसले थुप्रै काम पनि गरिसकेको थियो । पछि स्थानीय तहको अधिकार होइन भन्ने कुरा आएपछि कानूनी समस्याको कारणले गर्दा स्थानीय तहले काम गर्न नपाएको अवस्था हो । तर त्यति हुँदा हुँदै पनि केन्द्रीय सरकारले आयोग बनाएको थियो, त्यो आयोग मार्फत हामीले काम अगाडि बढाएका थियौं तर गठबन्धन सरकारले यो कामलाई बीचमै रोक्यो ।

चुनाव नजिकिंदै जाँदा यो क्षेत्रमा कांग्रेसका पूर्व महासमिति सदस्य लगायत धेरै मान्छे एमाले प्रवेश गर्नुभयो । अहिले नै जसपाका प्रदेश अध्यक्षले राजीनामा गरेर बस्नुभएको छ । कतिपयले एमाले प्रवेश गर्ने भन्ने अनुमान गरेका थिए । उहाँहरूसँग तपाईंहरूको संवाद भएर चुनाव अगाडि नै उहाँहरू एमाले प्रवेश गर्न लाग्नु भएको हो अथवा एमालेमा मतदान गर्नु हुन्छ ? त्यो विषयमा केही कुराकानी भएको छ कि छैन ?

नेपाली काँग्रेसबाट पूर्व महासमिति सदस्य सहित धेरै नेता साथीहरू नेकपा एमालेमा प्रवेश गर्नु भयो । त्यो राम्रो कुरा हो । उहाँहरूले काँग्रेसबाट  देशको कुनै विकास र उन्नती हुनसक्दैन, प्रजातान्त्रिक आन्दोलनको पनि कांग्रेसले नेतृत्व गर्न सक्दैन भन्ने महशुस गरेर उहाँहरू नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । जसपाको कुरा छ, जसपाले पनि जुन लक्ष्य र उद्देश्य भनेर उहाँहरूलाई संगठित गरेको थियो, त्यो लक्ष्य र उद्देश्य जसपाले पूरा गर्न सक्दैन भनेर नै उहाँहरूले राजीनामा गर्नु भएको हो । जसपाबाट राजिनामा गरेको नेताहरूसँग सकारात्मक संवाद भइरहेको छ । उहाँहरू प्रवेश गर्ने भनेको नेकपा एमालेमै हो । एमाले प्रवेश गर्दा बृहत्त साथीहरूसहित आउने भनेर उहाँहरू तयारी गर्दै हुनुहुन्छ र उहाँहरू आउनु हुन्छ । 

क्षेत्र–३ र ५ मा राप्रपासँग चुनावी तालमेल छ र अरू दुईवटा प्रदेशमा । राप्रपासँगको यहाँहरूको सहकार्य कत्तिको मजबुत होला ?

राप्रपासँग २०७४ मा पनि  तालमेल भएको हो । त्यो झापा जिल्लामा मात्रै थियो । झापाको ३ नम्बर निर्वाचन क्षेत्रमा हामीले राप्रपाका राजेन्द्र लिङ्देनलाई सघाउने र उहाँले हामीलाई सघाउने भनेर  अघिल्लो निर्वाचनमा तालमेल भएको थियो । यसपटक रूपन्देही लगायतका केही जिल्लामा पनि राप्रपासँग तालमेल भएको छ । गत निर्वाचनमा झापाको एउटा पालिकामा हामीले काँग्रेससँग पनि तालमेल ग¥यौं । काँग्रेससँगको तालमेल भन्दा राप्रपासँगको तालमेल अलिक खदिँलो, दरिलो, विश्वसनीय हुने हामीले पाएका छौं । गएका निर्वाचनमा पनि त्यो पुष्टि भएको छ र यसपालिको  निर्वाचनमा पनि हामीले तालमेल गरेका छौं । राप्रपाको अध्यक्षलाई हामीले निर्वाचन क्षेत्र नं ३ मा सघाउने भनेका छौं, १ नम्बरको २ र ४ नम्बरको २ मा पनि उहाँहरूको उमेदवारलाई सघाउने भनेका छौं । बाँकी ठाउँहरूमा उहाँहरूले नेकपा एमालेका उमेदवारहरूलाई सघाउने भन्ने सहमति भएको छ । त्यस सन्दर्भमा बारम्बार नेतृत्वसँग कुरा भइराखेको छ ।  यो तालमेल विश्वसनीय नै छ । मत हाम्रो तालमेल अनुसार नै प्राप्त हुन्छ । एमालेलाई सघाएको ठाउँमा राप्रपाले इमान्दारीसाथ काम गर्ने छ । राप्रपालाई सघाएको ठाउँमा एमालेले राम्ररी काम गर्नेछ । कसरी विश्वसनीय बनाउने भन्ने सन्दर्भमा नेतृत्वका बीचमा पनि छलफल भएको छ ।

अहिलेको चुनाव पहिलेको भन्दा फरक दृश्यमा देशभरी नै देखिएको छ । पहिले ठूलाठूला आमसभा हुन्थे, ¥याली हुन्थे, भेलाहरू हुन्थे । जनताको संख्या हेरेर पूर्वमूल्याङ्कनको आधार पनि हुन्थ्यो । यसपालि ठूला आमसभा पनि त्यति भएको देखिँदैन । निर्वाचन आयोगले पनि छोटो समय दियो । जसले गर्दा धेरै मान्छे घरमा बसेका छन्, निर्वाचनप्रति त्यति उत्साह छैन, घरदैलोमा पनि त्यति हिँड्ेका छैनन् भनेर अनुमान गरेका छन् । त्यो देखिन्छ पनि । मतदाताहरूलाई पार्टीले कसरी  सम्पर्कमा राखेको छ  ?

त्यस्तो उत्साह नै नभएको त होइन तर पहिलेको र अहिलेको वातावरण नै फरक छ । निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । आचार संहिता लगभग धेरै पालना भएको छ । परिस्थितिका कारणले पनि यस्तो भएको हो । यो क्षेत्रका जनतमा उत्साह छ, केपी ओलीलाई भोट हाल्न एकदमै उत्साहित हुनुभएको छ । स्वतःस्पूर्त भोट हाल्ने भन्नु भएको छ । प्रदेशमा हिक्मत कार्की र होमबहादृुर थापा उहाँलाई पनि अत्याधिक मत आउने स्थिति छ । जनता निराश छैनन् ।

पार्टीले मतदातालाई घरभित्रै पसेर मतदान गर्न सिकाउनेदेखि लिएर आफ्नो उमेदवारको बारेमा बताउने कुरा अहिले भइराखेको छ ?

हरेक टोलमा त्यो काम भइराखेको छ । केही ठाउँमा अलिकति बाक्लो भएको होला, कतिपय ठाउँमा अलिक पातलो भएको होला । हुन चाहिँ सबै तिर भइराखेको छ । आजदेखि उम्मेदवारको घरदैलो कार्यक्रम लगभग समाप्त हुँदैछ । ३० गते र १ गते बाँकी छ । १ गते हाम्रो सभा पनि छ । ठूलाठूला सभा  हामीले राखेनौं । मंसीर १ गते अन्तिम दिन हामीले दक्षिण भेगमा ठूलो सभा राखेका छौं । पहिला त्यहाँ ठूलो कार्यक्रम राखेका थिएनौं, अहिले बृहत्त आमसभा राखेका छौं र त्यसको तयारी छ । बाँकी समयमा पनि हरेक मतदाताको घरमा जाने र प्रचार प्रसार गर्ने भनेर हामीले योजना बनाएका छौं ।

२०७४ को निर्वाचनमा केपी शर्मा ओली सर्वाधिक मतान्तरले विजयी हुनुभयो । यसपाली त्यो मतान्तर कायम राख्न सक्नुहुन्छ ?

तपाईंको सञ्चार माध्यमबाट एउटा कुरा दाबीका साथ भन्छु । गत निर्वाचनमा हामीले २८ हजार भन्दा बढी मतान्तरले विपक्षीलाई हराएका हौं । यसपाली ४० हजार मतको अन्तरले उनीहरूलाई हराएर हामी जित्दैछौं । यहाँका जनताले के बुझेका छन् भने केपी ओलीलाई जिताउनु भनेको देशको प्रधानमन्त्री बनाउनु हो । आफ्नो एक मतले देशको प्रधानमन्त्री बनाउने अवसरलाई यहाँका जनताले भरपुर सदुपयोग गर्दछन् । यसमा दुई मत नै छैन । त्यस्तै प्रदेशमा पार्टी स्थायी कमिटी सदस्य हिक्मत कार्की हुनुहुन्छ । जितेर गएपछि उहाँको पोजिसन के होला भनेर धेरैले अनुमान गरिसकेका छन् । होमबहादुर थापा सरल र मिजासिलो हुनुहुन्छ । विकास निर्माणका कामको अनुभव धेरै छ उहाँसँग । त्यसैले हाम्रा उम्मेद्वार सबै एक से एक हुनुहुन्छ ।