अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुममा आठ पत्रकार पुरस्कृत


तेह्रथुम – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२औं साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो । 

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवं रेडियो तेह्रथुमका सहायक स्टेशन म्यानेजर नरेश ढुङ्गाना रहेका छन् । दुवैजनालाई  क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु ११ हजार एक सय ११ रहेको छ । उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आउनुभएका राधिका पोखरेल र डा सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गर्नुभएको हो । 

यस्तै महासङ्घले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरिएको छ ।  पुरस्कारको राशि जनही रु पाँच हजार पाँच सय ५५ रहेको छ । उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेजबहादुर कार्की दम्पत्तिले स्थापना गर्नुभएको हो । 

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत हुनुभएको छ  । पुरस्कारको राशि जनही रु एक हजार एक सय रहेको छ । उक्त पुरस्कार स्व सोमनाथ निरौलाको परिवारले  स्थापना गर्नुभएको हो । आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित हुनुभएको छ  । उक्त पुरस्कारको राशि जनही रु एक हजार एक सय ११ रहेको छ । सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो । 

संविधानसभा सदस्य सिता गुरुङ, तेह्रथुम प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल र नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गर्नुभएको थियो । शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित हुनुभएका उम्मेदवार गुरुङ, दुलाल र दुर्गाप्रसाद चापागाईलाईसमेत सम्मान गरेको थियो । यस्तै गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी हुनुभएका महासङ्घका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु र आठराई गाउँपालिका–६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानित गरिएको थियो ।