अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी संकल्पयात्रामा अवरोध नगर्न एमाले कोशीको आग्रह

मध्यपहाडी संकल्पयात्रामा अवरोध नगर्न एमाले कोशीको आग्रह

यात्रा रोकिँदैन, एमाले मुठभेड गर्ने पक्षमा छैन : अध्यक्ष खतिवडा  


काठमाडौँ–नेकपा एमाले कोशी प्रदेश कमिटीले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न आग्रह गरेको छ । बैतडीको झुलाघाटबाट सुर भएको एमालेको मध्यपहाडी यात्राका क्रममा अवरोध नगर्न आग्रह गरेको हो । 

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले पहिचानवादीहरुले एमालेको यात्रालाई अवरोध नगर्नेमा आशावादी रहेको बताउनुभयो । लोकतमन्त्रमा विरोध, आफ्ना अधिकार, आवाज, आफ्ना भनाइ राख्न पाइने भन्दै उहाँले बल प्रयोग गरेर एमालेको यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभयो । 

अध्यक्ष खतिवडाले एमालेको यात्रा नरोकिने प्रष्ट पार्न भयो । उहाँले भन्नुभयो,’यात्रा रोकिँदैन । हामीले रोकिनुपर्ने, रोक्नुपर्ने त्यस्तो छैन । हामी कसैप्रति लक्षित गरेर यो अभियान गरिएको पनि छैन । त्यसैले हामीप्रति पनि लक्षित भएर यसलाई अवरोध पुर्‍याउने काम कसैबाट हुनुहुँदैन ।’ 

अध्यक्ष खतिवडाले एमालेको समृद्धिका लागि संकल्प यात्रालाई सफल बनाउन राज्यले पनि त्यो ढंगको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । ‘प्रशासनले हामीलाई सुरक्षा दिएर लग्नुपर्छ । कार प्रतिकार भन्ने शब्द अहिले हामीले बिर्सिएका छौँ । त्यो हाम्रो विषय पनि होइन । त्यतातिर हामीले सोचेका पनि छैनौँ । प्रशासनले शान्ति सुरक्षा व्यवस्था मिलाउनुपर्छ’, उहाँले भन्नुभयो ।  

अध्यक्ष खतिवडाले एमालेको मध्यपहाडी यात्रा राजनीतिक प्रतिस्पर्धाका लागि नभएकाले पार्टी बसैसँग मुठभेड गर्ने पक्षमा नरहेको प्रष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो,’हाम्रो सिंगो राष्टको समृद्धिको अभियानलाई बोकेर हिँडेका छौँ । समृद्धिका लागि संकल्प यात्रा हो । समृद्धि विकास निर्माण सबैलाई चाहिएको छ । सुखी नेपाली र समृद्धि नेपाल निर्माण गर्ने एमालेको अभियान हो । त्यो अभियानभित्र हामी केन्द्रित भएर लाग्छौँ ।’ 

एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै छ । त्यसका लागि तयारी पुरा भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । उहाँले आज बिहान साढे ११ बजे घुर्मीमा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताको स्वागत गरिने जानकारी दिनुभयो । घुर्मीमा १ बजे जनसभा गरेर त्यसपछि भेटघाट गर्दै खोटाङ प्रवेश हुने उहाँले बताउनुभयो । एमालेको मध्यपहाडी यात्राको टोली आज खोटाङको दिक्तेल बजारमा बास बस्नेछ ।