अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

के पढ्छ एमाले ? के पढाँउछ एमाले ?

के पढ्छ एमाले ? के पढाँउछ एमाले ?


कम्युनिष्ट कार्यकर्ताको सबैभन्दा ठूलो हतियार विचार हो भनिन्छ। कार्यकर्तामा आधारित पार्टी भएकोले कम्युनिष्टहरूले विचारबाट नै मानिसहरूलाई आफ्नो सिद्धान्तको छत्रछायाँमा राख्न सक्छन्। पार्टीका नीति, सिद्धान्त, विगत, वर्तमान र भविष्यसमेत आकंलन गरेर जनतालाई आफ्नो पक्षमा पार्न सक्ने कार्यकर्ता निर्माण गर्नु कम्युनिष्टहरूको मूल विशेषता हो।
पार्टी स्थापना भएको ७५ वर्षसम्म नेपाल कम्युनिष्ट पार्टीका हाँगाविंगाहरूले यसै अवधारणा अनुरूप कार्यकर्तालाई प्रशिक्षित गर्दै आएका छन् । नेपाली कम्युनिष्टहरूको मुलधार नेकपा एमालेले धेरै पहिला देखि नै पार्टीको केन्द्रीय कमिटीमा स्कूल विभाग गठन गरेर त्यसै विभाग मार्फत कार्यकर्तालाई प्रशिक्षित गर्ने काम गर्दै आएको छ। यो विभागमा मोदनाथ प्रश्रित, केपी शर्मा ओली, शंकर पोखरेल हुँदै हाल उपमहासचिव प्रदिप ज्ञवाली स्कूल विभागको प्रमुख हुनुहुन्छ । ज्ञवालीलाई दशौं महाधिवेशन पछिको कार्यविभाजनमा स्कूल विभाग प्रमुखको जिम्मेवारी दिइएको हो।

पार्टी स्कूल विभाग एमालेको केन्द्र, प्रदेश र जिल्ला तहमा सक्रिय छ । पालिका तहमा पनि यो विभाग भए पनि त्यो धेरै कामयावी हुन सकेको छैन । ज्ञवालीको जिम्मामा स्कूल विभाग परेपछि नियमित रूपमा कार्यशाला शैलीका कक्षाहरू सञ्चालन गरिएका छन्। पाठ्यक्रम परिमार्जन गरिएको छ। जनसंख्या, समाज र सुचना प्रविधी जस्ता नयाँ विषय अहिले एमालेको स्कूलमा पढिन्छ पढाइन्छ। ‘समय यस्तो आयो कि हामीले पार्टीका सिद्धान्त मात्र पढेर समाजलाई बदल्न नसक्ने भयौं’ ज्ञवाली भन्नुहुन्छ ‘कुनै बेला पार्टीका नीति, सिद्धान्त, विचारहरूले मात्र जनतालाई कन्भिन्स गर्न सकिन्थ्यो। आफ्नो पक्षमा पार्न सकिन्थ्यो। तर अहिले त्यो भन्दा फरक र चलनचल्तीका विषयवस्तु पनि सबै एमाले कार्यकर्ताले जान्नै पर्ने भएको छ। जुन कुरा हामी पढ्छौं र पढाउछौं पनि।’

कम्युनिष्टहरूलाई यसै पनि पढन्ता नै भनिन्थ्यो । कुनै पनि विषयवश्तुमा गहिरो अभिरुची र जानकारी लिनु उनीहरूको विशेषता भित्र नै पर्दछ। तर पछिल्लो समय एमाले जस्तो व्यवस्थित पार्टीमा पनि पठन संस्कृति हराउदै गयो भनेर केन्द्रीय कमिटी र सचिवालयको बैठकमा चिन्ता जाहेर हुने गरेको छ । पढाइसँग एमालेको मूल नेतृत्वको अर्को गजब संयोग पनि छ। अध्यक्ष केपी शर्मा ओली अति पढन्ता हुनुहुन्छ। ७३ वर्ष लाग्दै गरेका अध्यक्ष ओली नयाँ समाचार, नयाँ पुस्तक पढ्न, नयाँ-नयाँ ज्ञान लिन हरदम उत्साहित भएको सबैले देखेका छन्। पार्टीका कार्यकर्ता मात्र होइन उहाँको विरोध गर्नेले पनि केपी ओलीको अध्ययनशिलताको प्रशंसा नै गर्दछन्। तर यस्ता अध्ययनशिल नेताका कार्यकर्ता किन पुस्तक र गहिरो ज्ञानबाट टाढै बस्न थालेका होलान् त ? अध्यक्ष ओली औपचारिक तथा अनौपचारिक प्रसंगमा पनि आफ्ना नेता र कार्यकर्ताले नयाँ ज्ञान लिन छोड्दै गएकोमा चिन्ता गर्नुहुन्छ।

बोलीचालीमा कम्युनिष्टहरूले बारम्बार प्रयोग गर्ने एउटा शब्द छ ‘स्कूलिङ।’ स्कूलिङ शब्दले पार्टीको प्रशिक्षण वा स्कूललाई नै इंगित गरेको हो । जस्तै एमाले स्कूलिङ,माले स्कूलिङ, माओवादी स्कूलिङ, जनमोर्चा स्कूलिङ आदि । स्कूलिङ भनेको सो पार्टीले अवलम्बन गरेको मूल नीति,पार्टीका नेताले लिएको बिचार र जीवनशैली आदि हो। पार्टी र नेताले लिएका बिचार,आदर्श वा जीवनशैली कार्यकर्ताहरूले अवलम्बन गर्दै पार्टीको पुस्तौंपुस्तासम्म स्थानान्तरण हुँदै जान्छ। यसैलाई स्कूलिङ भनिन्छ । ‘एमालेका जिल्ला स्तरमा हुने स्कूलहरू कमसल हुँदै गएका थिए। प्रशिक्षणको ब्यानर राख्ने नेता आउने भाषण गर्ने कार्यकर्ताले थपडी बजाउने प्रशिक्षण सकिने’ ज्ञवाली भन्नुहुन्छ ‘यो प्रवृतिमा व्यापक सुधार गर्नुपर्दछ भनेर बर्षदिन देखि म निरन्तर लागिरहेको छु। अहिले पार्टीले साँच्चिकै प्रशिक्षण नै चलाएको छ। अझ हामी यस्तो प्रशिक्षणलाई कार्यशाला भन्ने गर्दछौं।’
उपमहासचिव ज्ञवाली एमालेका नेता कार्यकर्तालाई क्रमश पठन संस्कृतितिर फर्काउने काम स्कूल विभागले गरिरहेको बताउनुहुन्छ। पार्टीमा आवद्ध कार्यकर्ता विचारले युक्त भएमा मात्र पार्टी बलियो हुने भएकोले आफूले देशैभरी पार्टी स्कूल कार्यशाला सञ्चालन गरेको उहाँ बताउनुहुन्छ। २०७८ चैत देखि यो विभाग समालिरहनु भएका ज्ञवालीका अनुसार हालसम्म सातवटै प्रदेश,२६ जिल्ला,अघिल्लो कार्यकालका सबै स्थानीय तहका जनप्रतिनिधीलाई स्कूल विभागले प्रशिक्षण दिएको छ। यसैगरी गतवर्षको निर्वाचन पछि चुनिएका तीनै तहका जनप्रतिनिधीलाई अलग अलग प्रशिक्षण दिइएको छ। यस्तै पार्टीका १३ वटा जनसंगठनका पदाधिकारीलाई पनि प्रशिक्षित गरिएको छ।

आधारभूत देखि विशिष्टसम्मको कोर्ष
एमालेका प्रशिक्षण तीन दिने देखि ७ दिनसम्मका छन्। आधारभुत तहको कोर्स ३ दिनको हुन्छ। दिनको ६ घण्टा गरेर १८ घण्टामा यो कोर्स पुरा हुन्छ। बिहान ८ बजे देखि सुरू हुने यस्ता कक्षाहरू प्रयोगात्मक,अन्तरक्रियात्मक र परियोजना कार्यसमेत गर्नु पर्ने किसिमका छन्। जसले यसमा सहभागी हुने सबै कार्यकर्तालाई समयको व्यवस्थापन गर्न पहिले नै प्रतिवद्धता जाहेर गर्न लगाएको हुन्छ। आधारभुत तहको प्रशिक्षणमा १४ वटा विषयहरू समावेश गरिएको छ। जसमा राजनीतिक शब्द र परिचय,समाज,राज्य र कम्यूनिष्ट पाटी,महाधिवेशनबाट पारित सिद्धान्त,नीति,कार्याक्रम र कार्यदिशा,नेपालका राजनीतिक पार्टीहरूको संक्षिप्त परिचय आदि। यसैगरी वर्गीय बिष्लेषण,नेपालको जनसंखिक विष्लेषण,जनप्रतिनिधीको भूमिका,प्रविधिको प्रयोग आदि छन्।

आधारभुत तहको कक्षा जिल्ला पार्टी कमिटीले आयोजना गर्दछ। अहिले प्रदेश तहमा प्रशिक्षक उत्पादन भइनसकेकोले केन्द्रीय स्कूल विभागबाट नै प्रशिक्षक पठाइने गरिएको छ। तर यो काम प्रदेश कमिटीको हो। यस कक्षामा जिल्ला कमिटी सदस्य,पालिका सदस्य,वडामा निर्वाचित सदस्यहरू र पार्टीका संगठित सदस्यले पढ्ने हैसियत राख्दछन्। कार्यशालाको शैलीमा स्कूल सञ्चालन गरेको एमालेले इच्छुक सबै कार्यकर्तालाई पढ्ने मौका दिन सकेको छैन। ‘एउटा कक्षामा ४० जना कमरेडहरू राखेर पढाउन पायौं भने सिक्ने र सिकाउने कुरा प्रभावकारी हुन्छ’ ज्ञवाली भन्नुहन्छ ‘तर कतिपय ठाउँमा खर्चको समस्या,पढ्न चाहने कार्यकर्ताको ठूलो संख्या आदिले हलै भरी कार्यकर्ता राखेर पनि पढाउनु परेको छ।’

एमालेले किन ‘आइडल क्लास’ खोजेको हो त ? किनकि एमालेको कक्षामा बसेका प्रशिक्षार्थीले ‘प्रि टेस्ट’ दिनु पर्दछ । त्यसको नतिजाको आधारमा कुन विषयलाई कसरी प्रष्तुत गर्ने ,कसको ज्ञानको तह कति रहेछ भन्ने कुराको जानकारी लिएपछि कक्षा अघि बढाउन सहज हुने ज्ञवालीको भनाइ छ। राजनीतिक भाषामा प्रशिक्षण भने पनि एमालेले सञ्चालन गरेको कक्षा उन्नत तालिम जस्तो छ। जहाँ भाषण हैन,विषयवश्तुको प्रष्तुती हुन्छ। एकतर्फी होइन,दुईतर्फी संवाद हुन्छ। प्रशिक्षण लिनेहरू हलबाट बांिहरिदा विश्वविद्यालयको कक्षा कोठाबाट बाहिरिएको महसुष गर्दछन्। जहाँ नेताले बोल्ने,कार्यकर्ताले थपडी बजाउने होइन,परियोजना कार्य हुन्छ । त्यती मात्र होइन आफैं कक्षाको अगाडी आएर प्रशिक्षण पनि दिनुपर्ने हुन्छ । यसले ज्ञानको स्थानान्तरण मात्र हैन नेतृत्व सीप र वाक कलाको विकास पनि सँगसँगै गराइरहेको हुन्छ। त्यसैले एमालेको स्कूल भनेको व्यवस्थित नेता उत्पादन गर्ने विश्वविद्यालय पनि हो। १८ घण्टाको कक्षा सकिएपछि सहभागीले फेरी परीक्षा दिनु पर्दछ। उक्त परीक्षामा पास भएपछि मात्र पार्टीले आधारभुत तह पास गरेको प्रमाणपत्र उपलब्ध गराउदछ।

आधारभुत तह पार गरेको कार्यकर्ताले पार्टीको माध्यमिक तहको कक्षामा सहभागी हुन पाउने व्यवस्था छ। यो तहको प्रशिक्षण पार्टीको प्रदेश कमिटीले आयोजना गर्दछ । यो तहको प्रशिक्षणमा पालिकाका पदाधिकारी,जनसंगठनका केन्दीय र प्रदेश पदाधिकारी,निर्वाचित वडाअध्यक्ष र प्रशिक्षकका लागि पार्टीले तोकेका व्यक्तिहरू सहभागी हुन पाउने व्यवस्था छ । माध्यमिक तहमा आधारभूत तहमा राखिएका पाठ्यक्रमलाई नै विस्तृतिकरण गरिएको छ। माध्यमिक तहको कोर्स ६ दिन अर्थात ४० घण्टाको हुन्छ । यस तहमा महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम,कार्यदिशा र नीति,नेपालका राजनीतिक पार्टी र तिनको तुलनात्मक अध्ययन,समाजको विकासक्रम,माक्र्सवाद–लेलिनवादी परिचय,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा लगायतका विषयहरू छन् ।

पार्टीले उच्च वा विशिष्ट तहको पाठ्यक्रम पनि राखेर नेताहरूलाई पढाउने गरेको छ। यो काम पार्टीको केन्द्रीय स्कूल विभागले गर्दछ । ज्ञवालीका अनुसार ७ दिन र ५० घण्टाको यो कक्षामा पार्टीका केन्द्रीय सदस्य,प्रदेशका पदाधिकारी,जिल्ला कमिटीका अध्यक्ष,पालिकाका प्रमुख,जनसंगठनका केन्द्रीय पदाधिकारीहरू सहभागी हुन्छन्। यो तहमा दर्शनशास्त्रको पढाइ हुन्छ । यसमा सहभागीहरूलाई आफ्नो रूचीको मुख्य विषय रोज्न लगाइन्छ। यस तहमा हरेक मुख्य विषयको अलग अलग समुह विभाजन गरेर पढाउने गरिएको छ। जसमा माक्र्सवाद दर्शन,राजनीतिक अर्थशास्त्र,अन्तराष्ट्रिय कम्यूनिष्ट आन्दोलनको संक्षिप्त इतिहास,नेपालको ऐतिहासिक विकासक्रम,वैज्ञानिक समाजवाद,नेपालको अन्तराष्ट्रिय सम्बन्ध,भूराजनीति र कुटनीति लगायतका विषयहरू पढाइ हुन्छ।

पाटी स्कूल विभागका सचिव घनश्याम कोइरालाका अनुसार एक वर्षको अनुभवमा एमालेका नेता कार्यकर्तालाई दिक्षित गर्न धेरै ढिला भएको महसुस भएको छ। स्कूल विभागले सञ्चालन गरेको प्रशिक्षण तथा कार्यशालाले सैद्धान्तिक ज्ञान मात्र होइन,व्यबहारिक ज्ञान र नेतृत्व क्षमता पनि बढाएको छ। ‘पार्टी स्कूलले सञ्चालन गरेको कार्यशालाले नेता कार्यकर्ताको आत्मबल बढाएको छ ’ कोइराला भन्नुहुन्छ ‘कार्यशालामा दिइने व्यवस्थापन सीप,नेतृत्व कला आदिले दैनिक जीवनका अन्य क्षेत्रहरूमा पनि एमालेका नेता कार्यकर्तालाई अब्बल हुने अवसर प्रदान गरेको छ।’

कार्यकर्तालाई बलियो बनाउने हतियार भनेकै विचार भएकोले यसलाई बलियो बनाउने एमालेको बिभान महाधिवेशन र दशौं महाधिवेशन विशेष प्रस्ताव नै पारित गरेको थियो । महाधिवेशनबाट पारित संगठनात्मक प्रस्तावमा पार्टी निर्माणको पहिलो विषय ‘बैचारिक स्पष्टता,बुझाइ र गराईमा एकरूपता’ उपशिर्षकमा ‘विचारमा आधारित एकतावद्ध,अनुशासित र गतशिल संगठनको निर्माण बिना पार्टी र आन्दोलन सफलतापूर्वक अघि बढ्न सक्दैन’ भनिएको छ। यस बुझाइमा एकरूपता कायम गर्नका लागि ‘व्यवस्थित पार्टी स्कूल सञ्चालन गर्नुपर्दछ। पार्टी सदस्यता प्रदान गर्ने बेला देखि नै आधारभुत प्रशिक्षणको व्यवस्था गर्नुपर्दछ।’ महाधिवेशनले पास गरेको यो प्रस्तावमा आधारित भएर नै कार्यकर्तालाई पढाउने वा पढ्न उत्प्रेरित गर्ने काम भइरहेको कोइरालाको भनाइ छ।