अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी छ: मन्त्री भगवती चौधरी

महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन जरुरी छ: मन्त्री भगवती चौधरी


काठमाडौं-महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाहरुले भोग्दै आएको हिंसा रोकथामको निम्ति महिलाहरु आर्थिक रुपले आत्मनिर्भर हुन् जरुरी रहेको बताउनुभएको छ।

आज एक टेलिभिजनलाई आन्तर्वार्ता दिंदै मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो। मन्त्री चौधरीले भन्नुभयो, ‘समाजको विकास तथा निर्माणमा नारीको योगदान अग्रणी हुन्छ। नारी शक्तिलाई देश विकासको कार्यमा समावेश गर्न सकिएको छैन भने त्यस देशको विकासको गति अत्यन्त मन्द हुन्छ।’

नेपालकाे कुल जनसंख्याको करीब आधाभन्दा बढी नारी रहेको स्थिति केलाएर हेर्ने हो भने यो जगत् ज्यादै पिछडिएको सामाजिक रुढीबाढीमा अल्झिएको र कुरीतिले जकडिएको पाएको मन्त्री चौधरीले बताउनु भयो।

उहाँले नेपालको विकासमा नारी वर्गको सहभागिता पनि नगण्य रहने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अझै पनि समाजमा नारी भनेपछि पुरुषशासित नै हुनुपर्छ भन्ने भावनाले जरो गाडेको पाइन्छ। पुरुषशासित समाजमा महिलालाई शक्तिहीन पारी पुरुषहरू राज गर्छन्। छोरी मान्छेको परिपक्क भएर सिउँदो भरिनु जिम्मेवारी र कर्तव्य बढ्दै गएर पछि जहाँ पराईलाई आफ्नो बनाउने र आफ्नालाई पराई बनाउने बाध्यता र चुनौती महिलाका लागि सदैव रहिरहन्छ।’

महिलाहरुले दाइजो नल्याएका कारण यातना सहनुपर्ने बाध्यता रहेकाे मन्त्री चौधरीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘बोक्सीको आरोप लगाएर घर निकाला गरिने। बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगार, मानसिक यातना, गालीगलौज, जबर्जस्ती करणी, चेलीबेटी बेचबिखन र ओसारपसार, वैदेशिक रोजगारका नाममा ठगी, यौन शोषण, एसिड प्रहारलगायतका हिंसा महिलाले भोगिरहेको अवस्था छ।’ यी सबै हिंसा वा हिंसाजन्य कार्य हुन् नदिन महिला सशक्तीकरण आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘नेपाली समाजमा सर्वप्रथमतः महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वन गर्न जरुरी देखिन्छ। साथसाथै महिलाले आफ्नो दक्षता र क्षमताअनुसार प्रतिभा देखाउन पाए भने संख्याका आधारमा मात्र हैन, कर्मका आधारमा पनि उल्लेखनीय रूपमा सफलता प्राप्त गर्न सक्छन्।’

सरकारले पनि विभिन्न तवरले महिला अग्रसरताका लागि कानूनी दस्ताबेजमा र सहरी क्षेत्रमा मात्र केन्द्रित नरहेर ग्रामीण क्षेत्रमा बसोवास गर्ने महिलाका लागि पनि हुने गरी कार्यक्षमता अभिवृद्धि, महिलाले आफ्नो र परिवारको जीवनस्तर उकास्ने खालको योजना सम्बन्धी तालिम दिइ महिला स्वयं आफैंमा निर्भर रहने खालका दिगो कार्यक्रम ल्याउने तयारी आफूले गरिरहेको मन्त्री चौधरीको दाबी थियो।

मन्त्री चौधरीले देश विकासका जुनसुकै क्षेत्रमा पनि महिलाले अहम् भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास गर्न सक्ने दाबी गर्नुभयो।