अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै

आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदै


काठमाडौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो ।

बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य योजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्तलाई आधार बनाइएको अर्थ मन्त्रालयले जनाएको छ । सङ्घीय संसद्का दुवै सदनका सांसदहरूका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा व्यक्त गरेका प्रतिबद्धता र सरकारको सुशासनको मार्गचित्रलाई पनि बजेटको मूल आधार मानिएको  छ। 

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

यसपटकको बजेटलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको थियो । सरोकारवाला निकायहरूको राय र सुझावलाई बजेटमा यथेष्ट स्थान दिइएको बताइएको छ । चालू आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब रुपैयाँको थियो, जसलाई गत भदौ २३ र २४ मा भएको आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार रु १६ खर्ब ८८ अर्ब बराबर बनाएका थिए ।