काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनका नाममा हुने राजनीतिक प्रचारबाजी बन्द गरी उद्योगलाई दिगो रूपमा सञ्चालन गर्ने ठोस योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
महासचिव पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकार बनेपिच्छे हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने प्रयास हुने र केही समय चलेको देखिए पनि पुनः बन्द हुने पुरानै प्रवृत्ति दोहोरिँदै आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
महासचिव पोखरेलले उद्योग सञ्चालनलाई राजनीतिक प्रचारको विषय बनाउनुभन्दा आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनसहितको स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्।
महासचिव पोखरेलले भनेका छन्, ‘राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ।’
प्राविधिक तथा व्यावसायिक कार्ययोजनाविना केवल राजनीतिक दबाब वा लोकप्रियताका लागि उद्योग सञ्चालनमा ल्याउँदा विगतकै असफलता दोहोरिन सक्ने महासचिव पोखरेलको चेतावनी छ।
‘स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ,’ महासचिव पोखरेलले भनेका छन्।
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय विगतदेखि नै सरकारका लागि चुनौतीपूर्ण बन्दै आएको छ। पटक–पटक उद्योग सञ्चालनको घोषणा तथा प्रयास भए पनि दीर्घकालीन आर्थिक सम्भाव्यता, उत्पादन लागत, बजार व्यवस्थापन, प्रविधि र व्यवस्थापनको प्रभावकारी मोडलको अभावमा उद्योगलाई निरन्तर सञ्चालनमा लैजान कठिन हुँदै आएको छ।
महासचिव पोखरेलले उद्योग सञ्चालनका लागि राजनीतिक घोषणाभन्दा व्यवहारिक र व्यावसायिक योजना आवश्यक रहेको उल्लेख गर्दै विगतका कमजोरीबाट पाठ सिकेर दीर्घकालीन रूपमा टिक्ने मोडल तयार गर्न सरकारलाई आग्रह गरेका छन्।


प्रतिक्रिया