अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा मातृ-शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न जापानद्वारा साढे ४० करोड अनुदान

नेपालमा मातृ-शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न जापानद्वारा साढे ४० करोड अनुदान


काठमाडौं- जापानले नेपालको पाँच जिल्लामा मातृ-शिशु स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गर्न ४० करोड ५० लाख रुपैयाँ अनुदान दिएको छ ।

जापानले प्रदेश १ र २ का जोखिमयुक्त पाँच जिल्लामा यो कार्यक्रम सञ्चान गर्न सो रकम बराबरको अनुदान दिएको हो । संयुक्त राष्ट्र संघीय निकाय- विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कार्यान्वयन गर्नेछ ।

उक्त सहायता सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र डब्लुएफपी नेपालका प्रतिनिधि एवं राष्ट्रिय निर्देशक सुसान जान पर्सले हस्ताक्षर गर्नुभएको छ ।

यो कार्यक्रमले पूर्वी र मध्य नेपालका झापा, मोरङ र सुनसरी तथा सप्तरी र सिरहा जिल्लामा युवा अवस्थाका आमाहरू र बच्चाहरूको स्वास्थ्य र पोषण सुरक्षा गर्नेछ । यी जिल्ला जलवायु परिवर्तनसँग सम्बन्धित विपदहरूको उच्च जोखिममा समेत रहेका छन् ।

डब्लुएफपीले नेपालमा सरकारसँग मिलेर काम गर्दै आइरहेको छ । यो सहायताले ६ देखि २३ महिनासम्मका १९ हजार बालबालिका र ४९ हजार ७ सय गर्भवती र स्तनपान गराउने महिलालाई विशेष प्रकारको पोषण प्राप्त गर्ने बताइएको छ । त्यस्तै, सामुदायिक खाद्य बैंकबाट २५ हजार घरधुरी यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।