अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषिलाई प्रवर्धन गर्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

कृषिलाई प्रवर्धन गर्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका


दार्चुला- जिल्लाको मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवर्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो ।

कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पुर्‍याउनेसम्मका योजना अघि सारिएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।

मालिकार्जुनले यस वर्ष कृषि क्षेत्रका लागि मात्र सात लाख रुपैयाँ बजेट विनियोजन गरेको सो शाखा प्रमुख रमेशराज जोशीले जानकारी दिनुभयो । गत दुई वर्षमा कृषि पेसालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर युवाहरुलाई विभिन्न कृषि औजार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।

कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेसामा आबद्ध गराउने खालका कार्यक्रम यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

कृषि गर्न चाहने युवालाई जीविकोपार्जन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष धामीका अनुसार नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि मालिकार्जुनको सात लाख, कृषि ज्ञानकेन्द्रको १० लाख तथा जनश्रमदान गरी २० लाख रुपपैयाँको लागत रहने गरी साझेदारी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

यस कार्यक्रममार्फत गाउँपालिकाको वडा नं २ को न्वालपानी, वडा नं ३ को मलबाब, वडा नं ४ को गोठ्युडी, वडा नं ५ को हरडा तथा वडा नं ८ को कोटिला (कोट) क्षेत्रमा ओखरको बोट खरीद गरी कृषकलाई वितरण गरिने जनाइएको छ ।

स्थानीय निकाय र ज्ञान केन्द्रबीच साझेदारीपत्रमा हस्ताक्षर भएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिनुभयो । यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

परम्परागत तथा निर्वाहमुखी कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न लागि परेको अध्यक्ष धाँमीले बताउनुभयो । गाउँपालिकाले यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।