अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असिना पानीले नवलपुरमा २ करोडको इँटा नष्ट

असिना पानीले नवलपुरमा २ करोडको इँटा नष्ट


नवलपुर- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा असिना पानीका कारण करिब २ करोड बराबरको इँटा नष्ट भएको छ ।

गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा १ करोड ८० बराबरको क्षति पुगेको छ ।

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा सङ्घका सचिव कृष्ण गौतमले जानकारी दिनुभयो । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताउनुभयो ।

‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो,’ केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भन्नुभयो, ‘पानीले गलाउँथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।’

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू-बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा सङ्घका सचिव गौतमले बताउनुभयो । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उहाँले बताउनुभयो ।

पोल्ने अवस्थामा तयारी रहेका काँचो इँटा नष्ट हुँदा वर्षेनी इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उहाँले बताउनुभयो । अन्य व्यवसायको बीमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग सङ्घका अध्यक्षसमेत रहनुभएको गौतमले बताउनुभयो ।

बीमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।