अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुम्बाराहीमा दुई घण्टा छलफल : तीन सहमति, दुई आग्रह

धुम्बाराहीमा दुई घण्टा छलफल : तीन सहमति, दुई आग्रह


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच भएको आजको छलफलमा सर्वोच्चको फैसलालाई अवसरको रुपमा लिने सहमति भएको छ ।

एमाले प्रवक्ता एवं पराराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सर्वोच्चको फैसलाले एमालेलाई एकताबद्ध गरेर माओवादी लगायत साना वाम पार्टीलाई एकतावद्ध गर्ने अभिभारा दिएको भन्नेमा दुवै पक्ष सहमत रहेको बताउनुभएको छ । ‘बलियो एमालेले मात्र अरु वामपन्थीहरुलाई एकतावद्ध गरेर देशलाई निकास दिन सक्छ भन्ने एउटा साझा निष्कर्ष निकालेका छौं,’ ज्ञवालीले भन्नुभयो । वार्तामा सहभागी ज्ञवालीले पत्रकारहरुलाई बताए अनुसार पार्टी भित्रका अन्तरविरोधलाई छलफल गर्दै टुंगोमा पुग्ने तर पार्टी एकताको भावनालाई तलमाथि गर्न नहुनेमा दुवै पक्ष सहमत रहेको ज्ञवालीले जानकारी दिनुभयो ।

‘हामी बीचमा रहेका विवादका केही प्रश्नमा निष्कर्ष निस्कन बाँकी छ,’ ज्ञवालीले भन्नुभयो, ‘सर्वोच्चको फैसलाले हामीलाई एउटा अवसर दिएको छ । सबै वामशक्तिलाई एकतावद्ध गरेर अघि बढाउने जिम्मा एमालेको हो भन्नेमा हामी सबै सहमत भयौं ।’

माधव नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा बैठकमा आफूहरु अनुपस्थित भएकोले स्वामित्व लिन गाह्रो पर्छ भनेको छ । ‘त्यो बैठकमा भएका निर्णयलाई स्थगन गरौं भनेर उहाँहरुले भन्नुभएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘हामीले अब अगाडि बढौं । अब ती निर्णयहरुमा पुनरावलोकन गर्नुपर्नेछ, समिक्षा गर्नुपर्नेछ, सुधार गर्नुपर्ने छ भने त्यसमा छलफल गर्न सकिन्छ । छलफल गर्दै जाउँ भनेर हामीले आग्रह गरेका छौं ।

नेपाल पक्षलाई चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेला स्थगन गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । ‘केन्द्रीय कमिटीको बैठकको मितिका बारेमा केही नयाँ धारणा छ भने छलफल गरौं भन्ने हाम्रो प्रस्ताव रह्यो,’ ज्ञवालीले संवाददाताहरुसँग भन्नुभयो ।

करिब दुई घण्टा भएको वार्ताको अन्त्यमा पार्टीका नेताहरुबीच विभिन्न तहमा छलफल जारी राख्ने र आवश्यक पर्दा नेतृत्वसँग परामर्श गरेर निर्णय लिने सहमती भएको ज्ञवालीले जानकारी दिनुभयो ।