नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो डोजको खोप लगाउनु भएको छ । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स (एम्स) मा पुगेर उहाँले खोप लगाउनु भएको हो ।
‘मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,’ सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नु भएको छ । यो खोपले कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उहाँले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले पहिलो डोज गत मार्च १ मा लगाउनु भएको थियो । भारतले कोरोनाभाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरूलाई पनि उपलब्ध गराएको छ ।
कोरोनाविरुद्धको खोप उत्पादन र वितरणमा भारतका नेतृत्वदायी र उल्लेखनीय भूमिका खेलेको छ । यद्यपि भारतमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुदै गएको छ ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै १ लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।
पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनाभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल संख्या १ लाख ६६ हजार ८६२ पुगेको छ ।
प्रतिक्रिया