अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र राईः ‘म्यान अफ द इलेक्सन’को केन्द्रीय सदस्य दाबी

राजेन्द्र राईः ‘म्यान अफ द इलेक्सन’को केन्द्रीय सदस्य दाबी


काठमाडौं– स्थानीय, प्रदेश र संघीय चुनावमा सबै सिट दिलाउनुभएका एमाले धनकुटका अध्यक्ष राजेन्द्र राईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२०७४ मा धनकुटा यस्तो जिल्ला बन्यो, जुन जिल्लामा एमाले बाहेक अन्य सबै पार्टी मिल्दा पनि कुनै स्थानीय तह जित्न सकेनन् । अर्थात धनकुटामा एमालेले राजेन्द्र राईको नेतृत्वमा क्लिन स्वीप गर्‍यो । एमालेले क्लिन स्वीप गरेको एउटैमात्र जिल्ला धनकुटाका अध्यक्ष हुन् राजेन्द्र राई ।

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘म्यान अफ द इलेक्सन’को उपाधि दिनुभएको थियो ।

पार्टी अध्यक्षले नै ट्रफी दिएर घोषणा गरेपछि एमालेभित्र राजेन्द्र राई म्याद अफ दि इलेक्सन हिरोका रुपमा चर्चित हुनुभएको थियो ।

धनकुटामा २४ असार ०७४ मा आयोजित विजय सभामा ओलीले भन्नुभएको थियो, ‘स्थानीय तह निर्वाचन ०७४ मा एमालेको ‘म्यान अफ म्याच’ राजेन्द्र राई । अब म उहाँलाई विशेष ट्रफी प्रदान गर्छु । यदि अरु जिल्लामा एमाले बिरोधीले निहुँ खोजे भने हामी भन्नेछौं- धनकुटाबाट राजेन्द्र राई पठाइदिउँ ?’

धनकुटा कांग्रेस सहमहामन्त्री सुनिल थापा र जनता समाजवादीका उपाध्यक्ष रकम चेम्जोङको गृहजिल्ला हो । तर, स्थानीय चुनावमा सबै हेबीवेट नेताहरु राजेन्द्र राईका सामु कमजोर देखिएका थिए ।

०३६ सालमा काठमाडौंको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

राईले ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीनरूपमा पार्टीमा काम गर्न थाल्नुभयो । उनी धनकुटामा शिक्षकको आन्दोलनमा विद्यार्थी नेताको हैसियतमा सक्रिय सहभागी हुनुभयो । धनकुटा बन्दका क्रममा उनी गिरफ्तारमा पर्नुभयो । त्यसपछि ४१ दिन हिरासतमा राखेर राजकाज मुद्दा लगाइयो ।

२०४६ सालको जनआन्दोलनको सफलता लगत्तै उनले अनेरास्ववियु धनकुटाको अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य रहेर राजनीतिमा पूर्णकालीन बन्नुभयो । उहाँले अखिलपछि युवा संघको जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गर्नुभयो ।

राजेन्द्र राई ०४९ मा धनकुटा जिल्ला विकास समितिको सदस्य निर्वाचित हुनुभयो जतिबेला धर्मराज पौडेल सभापति थिए । २०५४ सालमा उनी जिल्ला विकास समितिको उपसभापति हुनुभयो । जतिबेला टीकाराम चेम्जोङ सभापति हुनुभयो ।

०६६ सालमा एमाले धनकुटाको अध्यक्ष निर्वाचित हुनुभएका राई लगातार दुईपटक जिल्लाको नेतृत्व गरिरहनुभएको छ ।