अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिनजुरे क्षेत्रमा हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

तिनजुरे क्षेत्रमा हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो


तेह्रथुम – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको  छ ।

पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको हो । हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन । हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरीङ शेर्पाले बताउनुभयो ।

‘यहाँका नागरिकहरूलाई जाडोले समस्या भएको छ । तर, हिउँ खेल्नका लागि पूर्वी तराईका जिल्लाहरूबाट पर्यटकहरू निकै बाक्लो आउने गरेका छन्,’ उहाँ भन्नुहुन्छ ।

सुनसरीको धरानदेखि तिनजुरेमा हिउँ खेल्न आएको शंकर राईले बताउनुभयो । ‘जीवनको पहिलो अनुभव हिउँमा खेल्न पाउँदा एकदमै रमाईलो भएको छ । यसअघि आउन सकेको थिइनँ । यसपटक भने हिउँ सँगै रमाउन पाएको छु,’ उहाँले भन्नुभयो ।

यसक्षेत्र खासगरी हिउँ पर्ने सिजन तथा गुराँस फुल्ने सिजनमा पर्यटक आउने गरेका छन् । चित्रे, बसन्तपुर, टुटे देउराली, आरआर गार्डेन, पाथीभारा तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी गुफापोखरीलगायतका स्थानहरू हिउँले ढाकेको टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताउनुभयो ।

उहाँका अनुसार हिउँ परेसँगै पर्यटकहरू साना तथा ठुला सवारी साधान रिजर्भ गरी आउन थालेका छन् । पर्यटकहरू भित्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष कोरोनाका कारण कमै पर्यटकहरू आएका छन् ।