अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले प्रत्यक्षतर्फको उम्मेदवार दसैँ अगाडि टुंग्याउने 

एमालेले प्रत्यक्षतर्फको उम्मेदवार दसैँ अगाडि टुंग्याउने 


काठमाडौं-नेकपा एमालेले प्रत्यक्षतर्फको उम्मेदवार दसैँ अगाडि टुंग्याउने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दसैँ अगाडि उम्मेदवारको टुंगो लगाउने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली आज झापाबाट काठमाडौं फर्किएपछि उम्मेदवारबारे छलफल हुने एमाले नेता विष्णु रिजालले बताउनुभयो । उहाँले दसैँ अगाडि नै उम्मेदवारको टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘उम्मेदवारको मनोनयनको समय आउँदै छ । बीचमा दसैँ छ । दसैँमा सबै नेताहरू घरतिर जानुहुन्छ । त्यसैले दसैं अगाडि उम्मेदवारको टुंगो लगाउँछौं । निर्वाचन आयोगले २३ असोजमा   उम्मेदवारी मनोनयनको समय दिएको छ । त्यस अगाडि उम्मेदवारको टुंगो लाग्छ ।’

निर्वाचन आयोगले पत्यक्षतर्फको उम्मेदवारको मनोनयन समय यही असोज २३ गतेका लागि तय गरेको छ । यसअघि यही असोज २ र ३ गते दलहरूले आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए ।  

एमालेले तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारबाट छनोट गर्नेछ । पार्टीको मापदण्ड अनुसार क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा उम्मेदवार सिफारिस भएर आएका छन् । एमालेले उम्मेदवार छनोटको मापदण्ड तय गरेर त्यसै अनुसार उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको थियो । एमालेका तल्ला कमिटीले भदौ २२ गतेसम्म उम्मेदवारको सिफारिस गरेर केन्द्रमा पठाएका थिए । एमालेका अधिकांश शीर्ष नेता सर्वसम्मत सिफारिस भएर आएका छन् भने कतिपय क्षेत्रबाट धेरै उम्मेदवार सिफारिस भएर आएको एमालेले जनाएको छ ।

एमालेले विचार मिल्नेसँग स्थानीय अवाश्यकता अनुसार तालमेल गर्ने जनाएको छ । यस्तै लोसपाले एमालेसँग निर्वाचनमा तालमेल गर्न वार्ता समिति समेत बनाएको छ भने राप्रपा नेपालले पनि एमालेसँग तालमेल गर्ने बताएको छ । यस्तै राप्रपाले पनि आवश्यकता अनुसार एमाले लगायतका पार्टीसँग तालमेल गर्ने जनाएको छ । मंसिर ४ गते हुने निर्वाचनमा सक्ता गठबन्धनका पाँच दल एक ठाउँमा हुँदा एमाले भने एक्लै चुनावमा जाने तयारीमा छ ।