अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेशी शासनको अन्तिम दिन !

परमादेशी शासनको अन्तिम दिन !



काठमाडौं -आजको सूर्योदयसँगै नेपालमा आम निर्वाचन सुरु हुदैछ । नेपालको संविधान बमोजिम हरेक पाँच वर्षमा हुने निर्वाचन २०७४ सालपछि आज हुन लागेको हो ।
निर्वाचन जनता शक्तिशाली हुने दिन हो । जनताको विवेकलाई कुनै पनि देशले गलत शासकको हातमा सत्तालाई सुम्पने र देशलाई बर्बादीमा लैजाने तत्वलाई रोक्न सक्दछ । हो आज त्यही दिन हो । तपाईं हाम्रोमा मत माग्नका लागि विभिन्न रुप रंगका उम्मेद्वारहरु दुई महिनासम्म घरदैलोमा आए । कम्तीमा दुई महिनामा चर्चामा आएका यी उम्मेद्वारको नालीबेली खुट्याउने अवसर र समय जनताले पाएका छन् । उनीहरुको विगत के थियो ? उनीहरुको राजनीतिक,सामाजिक,आर्थिक,चारित्रक हैसियत के हो भन्ने कुरा जनताले राम्ररी केलाउने मौका पनि पाएका छन् । त्यसैले चुनाव जितेपछि राष्ट्रियता,देशभक्ती,जनतालाई आफ्नो मुल मर्म मान्ने राजनीतिक पार्टी र तिनका उम्मेद्वारहरुलाई छनौट गरौं । गलत व्यक्तिका क्षणिक र भावनायुक्त झुटका पुलिन्दाको प्रलोभनमा परेर पाँच वर्षसम्म पछुताउने काम कसैले पनि नगरौं ।
नेपालमा स्थिरता नरुचाउने,नेपाली जनता सुखी र समृद्धि भएको हेर्न नचाहने तत्वले नेपाललाई सधैं अस्थिरताको भूमरीमा राख्ने प्रपञ्च गरिरहेका छन् । त्यसकै फलस्वरुप अहिले जनतालाई भुलभूलैयामा पारेर गलत पार्टी र व्यक्तिलाई मत हाल्न उद्यत गरिरहेकै छन् । तर सचेत नेपालीहरुले यस्ता तत्वहरुलाई पहिचान गर्नुपर्दछ ।
हामीले २०५१ सालपछि देशमा के कस्ता व्यक्तिहरुलाई प्रधानमन्त्रीको रुपमा व्योहोर्यौं त्यो सबैलाई थाहा छ । पञ्चायतले नै असफल सावित गरिसकेका लोकेन्द्रबहादुर चन्द,सूर्यबहादुर थापा जस्ता पात्रहरुलाई बहुदलबादीहरुले पालो गरीगरी बोक्नु पर्ने अवस्था सृजना भयो । जसको फलस्वरुप देश लामो समयसम्म अस्थिरताको खाडलमा जाकिएन मात्र देशमा शसस्त्र युद्धले फस्टाउने मौका पाएर १७ हजार भन्दा बढी नेपालीको हत्या भयो ।
त्यही परिस्थितीको पुनरावृती गराउने काम अहिले नेपालमा हुन खोजिरहेको छ । डेढ वर्ष देखि सर्वोच्च अदातले बनाइदिएको परमादेशी शासन देशमा छ । जो जनताप्रति उतरदायी छैन । त्यसैले यस्ता प्रवृतिलाई जगै देखि निमिट्यान्न पारेर जनादेशको संवैधानिक सरकार बनाउने दायित्व पनि नेपाली कै हो । यस्तो अवसर जनताले पटक पटक पाउदैनन् पनि । तर यो अवसर आज आएको छ । आज जनताले गर्ने एक एक मतबाट कस्ता प्रतिनिधी चुन्ने र देशलाई समृद्धिको बाटोमा हिडाउन सक्ने नेतृत्व छनौट गर्ने अधिकारको विवेकपूर्ण सदुपयोग गरौं ।
केपी शर्मा ओलीको नेतृत्वमा देश स्थिरता,विकास र समृद्धिको बाटोमा हिड्न थालेकै थियो । तर स्वदेश तथा विदेशी चलखेलले यो कुराको निरन्तरतामा अवरोध सृजना गर्यो । जसले गर्दा विकासको गतिमा वामे सर्न लागेका नेपालका पाइला अवरुद्ध भएका छन् । त्यो लामो र देशहितको यात्रालाई निरन्तरता दिन जनताको तहबाट साथ दिने महत्वपूर्ण दिन आज । त्यसैले मतदान गर्ने बेलामा देश सम्झौं । आफ्ना सन्ततीको भविष्य सम्झौं । यी दुई कुरालाई सुरक्षित र उज्ज्वल पार्नसक्ने राजनीतिक दल र उम्मेद्वार सम्झेर मतदान गरौं । आफूलाई जिताएका प्रतिनिधीका प्रति गर्व गर्ने अवस्था सृजना गरौं ।
हाम्रो सानो आवेगले धेरै नेपालीले बलिदान गरेर ल्याएको लोकतन्त्र फेरी गुम्न सक्ने वातावरण सृजना गर्दछ । त्यसैले हाम्रा राजनीतिक हक अधिकारलाई सुरक्षित गर्दै समृद्धि र विकासको यात्रामा अघि बढाउने कार्यभार पनि जनताकै हातमा छ ।