अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा मेरो दाबी हुँदैन, देउवालाई आगामी सरकारको नेतृत्व दिन तयार : प्रचण्ड

प्रधानमन्त्रीमा मेरो दाबी हुँदैन, देउवालाई आगामी सरकारको नेतृत्व दिन तयार : प्रचण्ड

appharu
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने स्पष्ट पारेका छन्।

योहो टेलिभिजनसँगको कार्यक्रम ‘सत्य संवाद’मा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुनका लागि सडकमा नआएको बताए।

ठूलो बलिदानी पछि बनेको संविधानको रक्षा गर्नुपर्ने अहिलेको मुख्य कार्यभार भएकाले प्रधानमन्त्री जो सुकै बन्दा आफूलाई फरक नपर्ने अध्यक्ष दाहालको भनाई छ।

‘प्रधानमन्त्री हुन नपाएर सडकमा आएको भन्दा दुःख लाग्छ’ अध्यक्ष दाहालले भने, ‘यहाँ त संविधानको रक्षा गर्ने कुरा छ, नागरिक समाजले जसलाई भन्छ त्यसैलाई प्रधानमन्त्री बनाउँदा हुन्छ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त सरकार बनाउने र प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने अध्यक्ष दाहालले स्पष्ट पारे।

अदालतले संसद पुनःस्थापना गरे नेकपा औपचारिक रुपमा फुट्ने र एकल सरकार गठनका लागि आफूहरुको गणक संख्या नपुग्ने भएकाले संयुक्त सरकार गठनबारे आफूहरुले सोचेको दाहालले बताए।

केपी ओलीले आत्मालोचना र जनतासँग माफी मागेर नसुध्रिदा सम्म नेकपा एक नहुने र त्यो सम्भावना तत्कालका लागि नरहेको समेत अध्यक्ष दाहालको टिप्पणी छ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र आफूले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संयुक्त सरकारको नेतृत्व दिन तयार रहेको कुरा बताइसकेको समेत अध्यक्ष दाहालले सुनाए।

‘माधव नेपाल र मैले भेटेर देउवालाई लोकतन्त्र बचाउनुपर्यो, संविधान बनाचनुपर्यो नेतृत्व तपाईं लिनोस् भनेका छौं’ अध्यक्ष दाहालले भने, ‘जनतालाई प्रष्ट होस्, हामी नेतृत्वको लागि, पद, प्रधानमन्त्रीको लागि लडाईं लडिरहेका छैनौं।’

संविधान र व्यवस्थाको रक्षाका लागि देउवालाई प्रधानमन्त्री स्वीकार्न कुनै अफ्ठेरो रहेको अध्यक्ष दाहालको भनाई छ।

प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री केपी ओली हारिसकेको अध्यक्ष दाहालको दाबी छ। यदि प्रतिनिधिसभा पुनःस्थापना नभए र ओलीको जंगलीराज जारी रहे मुलुकमा अराजकता आउने दाहालले बताए। सो समस्यालाई अन्ततः राजनीतिक पार्टी र आन्तरिक शक्तिले नै समाधान दिने दाहालको विश्लेषण छ।

नेकपाका अध्यक्ष दाहालसँगको कुराकानी तलको भिडियोमा हेर्नुहोस्