नयाँदिल्ली- भारतमा गत जनवरी १६ देखि कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् ।
कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड ६ लाख ५६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ३७ हजार ३४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार १३४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड-१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २० करोड ८७ लाख ३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र ७ लाख २६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड-१९ परीक्षण गरेको जनाइएको छ ।
प्रतिक्रिया