अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री ज्ञवाली

तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री ज्ञवाली


काभ्रे- परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्धारित मिति आगामी बैशाख १७ र २७ गते निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । बुधबार धुलिखेल नगरपालिकाको ३५ औँ स्थापना दिवस तथा काभ्रेको पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले निर्वाचनपछि नयाँ प्रतिनिधिसभा, नयाँ सरकार बन्ने र अहिले भईरहेका विकास निर्माणका कामलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले २०७४ सालमा जनताले दिएको जनमतलाई केहि नेताहरुले आफ्नो कुर्सीको लागि भर्‍याङ बनाएको आरोप लगाउनुभयो । उहाँले देशमा राष्ट्रियता, सुशासन, विकास, सामाजिक न्यायको पक्षको कामले गति लिईरहेको समयमा केही नेताको ध्यान निरन्तर कुर्सीमा गएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चेयर जस्तो बनाउने, आलोपालो गर्न लागेको आरोप लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई बिस्थापित गराउने षड्यन्त्रमा नेताहरु लागेको र देशमा विदेशी चलखेल तथा हस्तक्षेप बढाउनेतर्फ नेताहरु लागेकोले प्रधानमन्त्रीले प्रतिनिधिसभा भङ्ग गर्नुपरेको बताउनुभयो । उहाँले संवैधानिक निकाय, विभिन्न आयोगमा रिक्त रहका पदाधिकारी तथा राजदुत नियुक्तीमा नेताहरुले भागबण्डा खोजेको बताउनुभयो ।

उहाँले आगामी १०÷१२ दिनमा सर्वोच्च अदालत र संवैधानिक इजलाशले सरकारले अघि बढाएको ताजा जनादेशमा जाने कुरालाई सम्मान गर्ने विषयको टुङ्गो लगाउनेमा सरकार विश्वस्त रहेको बताउनुभयो । उहाँले आफुहरुले गल्ती गरेको भए दण्डित हुन तयार समेत रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सरकारले तीनवर्षको अवधिमा ६ हजार किलोमिटर सडक निर्माण, पाँच सय नयाँ पुल, फुसका छाना हटाई जस्ताको छानो बनाउने, दुई लाख ६० हजार बालबालिकालाई बिद्यालय भर्ना गराएर अभिभावकत्व लिने काम गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समुहप्रति अङ्कित गर्दै आगामी निर्वाचनमा या त नेपाली काँग्रेसले या त केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले जित्ने दावी गनुभयो । उहाँले अरु पार्टीलाई देशमा ठाउँ नरहेको बताउनुभयो ।

सच्चा लोकतन्त्र, देशभक्ति, प्रगतिको लागि, विकासको कामलाई थप गति दिनका लागि सामाजिक न्यायका लागि, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नका लागि र विकास वा विनाश रोज्ने अठोट बैशाख १७ गतेको निर्वाचनले टुङ्गो लगाउने बताउनुभयो ।