अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुलुक निर्वाचनतर्फ अग्रसर भएको छ, सबैले जिम्मेवारी वहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

मुलुक निर्वाचनतर्फ अग्रसर भएको छ, सबैले जिम्मेवारी वहन गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिपरेको बताउनुभएको छ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्नुपर्नेबेला भएको पनि प्रष्ट पार्नुभयो ।

‘लोकतन्त्रभित्रबाटै अस्थिरता खोज्ने प्रयास निस्तेज गर्नुपर्नेछ, मुलुक नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ, सबै निकायले आआफ्नो भूमिका जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । लोकतन्त्रमाथि खतरा पुग्ने काम कहीँ कतैबाट हुन नहुने उहाँले बताउनुभयो ।

साथै, उहाँले प्रणालीगत हिसावले विभिन्न संघर्षमार्फत नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा आइपुगेको बतानुभयो । प्रधानमन्त्री ओलीले यो प्रणालीलाई अझ जिवन्त बनाएर अगाडि बढ्नुको विकल्प नरहेको चर्चा गर्नुभयो ।

ताजा जनादेश लोकतान्त्रिक उच्चतम विधिभएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसकालागि जुट्न सबैमा आव्हान गर्नुभयो । सुशासन र विकासका सपना साकार पार्ने बेलामा कुनै अलमल गर्नुपर्ने आवश्यक नरहेको बताउनुभयो । मतभेदलाई बढावा दिने कुनै पनि गतिविधि गर्नु बान्छनिय नभएको चर्चा गर्र्नुहुँदै प्रधानमन्त्री ओलीले बृहत्तर राष्ट्रिय हितका लागि अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

‘यतिबेला विगतका हाम्रा बलिदान र कठिन दिनलाई सम्झेर आज विकासबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने दिन आएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सानातिना मतभेदलाई छाडेर बृहत्तर हितलाई ध्यान दिएर अगाडि बढ्न म सबैमा आग्रह गर्दछुँ ।’ सरकारले तीन वर्ष पूरा गरेको र यसअवधिमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।

सरकारले विभिन्न क्षेत्रमा देखिनेगरी सफलता हासिल गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्दै थप उपलब्धीका लागि सबै लाग्न आवश्यक रहेको बताउनुभयो । नेपाललाई एकजुट बनाएर सुन्दर भविष्य निर्माण गर्न साझा प्रयास गर्नु आवश्यक रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब हामी सबै विकासतर्फ उन्मुख हुनुपर्छ, जनताको आकांक्षा पूरा गर्ने दिशामा उन्मुख हुनुपर्छ ।’

राष्ट्रलाई एकताबद्ध गरेर अगाडि बढ्न आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको अभिमत विपरित सरकार नजाने प्रतिवद्धता जनाउनुभयो । अर्को वर्षसम्म अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदार्पण गर्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास दिलाउनुभयो । सो प्रयासमा सरकार लागिपरेको उहाँले बताउनुभयो । विगतका कठिन दिनको स्मरण गर्दै अझ उर्जाशील भएर सबै लाग्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।