अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल


चितवन- उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताउनुभएको छ । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट गर्नुभयो ।

‘न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ?,’ उहाँले भन्नुभयो ‘न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ।’

राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो ।’ उहाँले प्रश्न गर्नुभयो, ‘ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?’

निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उहाँले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिस नगर्न सबैलाई अनुरोध गर्नुभयो । यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ ।’ उहाँले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।