अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?

औषधि पसलले आहारपूरक खाद्यपदार्थ बेच्न पाउने कि नपाउने ?


राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेचिएका सम्बन्धमा सरोकारवालासँग थप छलफलपछि निर्णय गर्ने भएको छ ।

समितिको आज सम्पन्न बैठकमा ‘खाद्य ऐन, २०२३, औषधि ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गतका प्रत्यायोजित विधायनका साथै आहारपूरक खाद्य पदार्थको नियमन सम्बन्धमा थप छलफल आवश्यक रहेको समितिका सभापति रामनारायण विडारीले जानकारी दिनुभयो ।

समितिमा आज औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । औषधि पसलले आहारपूरकका रुपमा रहेको खाद्यपदार्थ बेच्चेपछि खाद्य तथा गुणनियन्त्रण कार्यालयले असहमति जनाउँदै आएको छ ।

समितिका सदस्य राधेश्याम अधिकारीले खाद्यसँग जोडिएका औषधिजन्य पदार्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि विभागसँग समन्वयमा मात्र बेच्नुपर्ने बताउनुभयो । उहाँले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँ बेच्दा नकरात्मक असर गर्ने भएको बताउनुभयो ।

अर्का सदस्य शान्तिकुमारी अधिकारीले औषधि र आहारपूरक खाद्यपदार्थ एकै ठाउँमा बेच्न दिनका लागि दुवैको अनुमतिपत्र हुनुपर्ने बताउनुभयो । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य र औषधिको एकै ठाउँमा बेच्न नपाइने बताउनुभयो ।

उहाँले विभागले देशभरी ४३ स्थानबाट अनुगमन गरिरहेको भन्दै अब चाँडै स्थानीय तहसँग मिलेर अनुगमन गर्नसमेत लागिरहेको जानकारी दिनुभयो । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले औषधि विभागमा दर्ता भएका औषधिलाई मात्र औषधि पसलले बेच्न दिनुपर्ने बताउनुभयो ।