अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट, विद्यार्थीसहित ५० जनाको मृत्यु

अफगानिस्तानमा विद्यालय बाहिर विस्फोट, विद्यार्थीसहित ५० जनाको मृत्यु


काबुल- अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा विस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा अन्य १ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा विस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम विस्फोटजस्तो देखिएको बताउनुभयो । अन्य दुई वटा बिस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताउनुभयो ।

विद्यार्थीहरू विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको हो । अधिकांश पीडित विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरूको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाइ छ ।

अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्र्सना गर्नु भएको छ । उहाँले घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीलाई निर्देशन पनि दिनु भएको छ ।