अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतमोहनकी छोरी नेकपा एकीकृत समाजवादी पार्टीमा

भरतमोहनकी छोरी नेकपा एकीकृत समाजवादी पार्टीमा


काठमाडौं– वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी सक्रिय रूपमा राजनीतिमा लाग्नु हुने भएको छ ।

लीमाले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) बाट राजनीति शुरुवात गर्नुहुने भएको छ ।

नेकपा (एस)ले  उहाँलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । उहाँ  नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् ।

अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी) र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताउनु भयो ।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहनुभएको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेण्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’, अधिकारीले भन्नुभयो, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरूको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ।’ राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उहाँको भनाइ छ ।

लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । उहाँका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक हुनुहुन्छ ।