अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रिपरिषद् विस्तार हुने ‘सम्भावना’

आज मन्त्रिपरिषद् विस्तार हुने ‘सम्भावना’


काठमाडौं– आज मन्त्रिपरिषद् विस्तार हुने ‘सम्भावना’ रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् ।

बालुवाटारमा बिहीबार बसेको गठबन्धनको बैठकले यसअघि भएको बाँडफाँटमा पनि हेरफेर गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादीले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिनेछन् । कांग्रेस, माओवादी र एसले १–१ राज्यमन्त्री पनि पाउनेछन्

एसलाई कानुन मन्त्रालयको सट्टा स्वास्थ्य मन्त्रालय तथा प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्री दिने सहमति भएको छ ।

एकीकृत समाजवादीले स्वास्थ्य, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगार र सहरी विकास मन्त्रालय पाएको छ । उक्त पार्टीले विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ र किसान श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित, गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय राख्ने भएको छ । माओवादीले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लिने भएको छ ।

जनता समाजवादीले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय नै गरिसकेको छ । पौडेलका अनुसार नाम तय भए पनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे बिहीबार साँझसम्म टुंगो लागेको छैन ।

चार मन्त्रालय पाएको जनता समाजवादीले पनि मन्त्रीको नाम टुंग्याउन सकेको छैन । कार्यकारिणी समितिको बुधबार बसेको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन्  ।