अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेशलाई पराजित गर्ने दिन आज

परमादेशलाई पराजित गर्ने दिन आज


भनिन्छ,आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । हजारौंको बलिदानीबाट प्राप्त लोकतन्त्र,संविधानसभाबाट निर्माण गरिएको संविधान, शक्तिको विकेन्द्रीकृत स्वरुप आदिले विभूषित स्थानीय तहको निर्वाचन आज हुँदैछ । पाँचवर्ष अघि यस्तै उल्लासमय वातावरणमा घरगाउँको सरकारको रुपमा रहेको स्थानीय तहको निर्वाचन भएको थियो । आज फेरी त्यो दिन दोहोरिएको छ । नेपाली जनताले गाउँगाउँमा आफ्ना जनप्रतिनिधी छनौट गर्ने स्वर्ण दिन हो आजको दिन ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । राज्यले अंगिकार गरेको यो व्यवस्थाको जग भनेका स्थानीय सरकार हुन् । जब स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुले जनताको भावना अनुसार काम गर्छन्,आफूलाई शासक होइन सेवक ठान्छन् तब लोकतन्त्रप्रति आम जनताको विश्वास बढ्छ । व्यवस्था र संविधानप्रति मानिसहरुले सम्मान प्रकट गर्दछन् । यसको उल्टो हामीले छनौट गरेका प्रतिनिधीहरु जब व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन्,जनतालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्छन् तव लोकतन्त्रप्रति आम जनताको मनोभावना नकारात्मक हुन्छ ।
अहिले छनौट गरेका प्रतिनिधी खराब भएमा त्यसलाई सुधार्न हामीले आउने पाँचवर्ष पर्खनु पर्ने हुन्छ । पाँचवर्षमा धेरै कुरा बिग्रिसकेको हुन्छ । खराब प्रतिनिधीले आफूलाई मात्र बिर्गादैनन् उनीहरुले हाम्रा पालिका,उनीहरु आवद्ध पार्टी,राजनीति र सिंगो व्यवस्थालाई नै धब्बा लगाउने काम गर्दछन् । त्यसैले आज हुने मतदानमा सही आचरण बोकेका उम्मेद्वार र देशलाई सही राजनीतिक दिशा दिन सक्ने राजनीतिक दललाई मतदान गरेर आफ्नो पालिकाको विकास र समृद्धिमा हामी आफैंले योगदान गर्ने अवसरको सही सदुपयोग गरौं ।
नेपाल अहिले राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित छ । पहिलो जनादेशको सम्मान गर्ने शक्ति र दोस्रो परमादेशलाई शिरोधार्य गर्ने शक्ति । पहिलो शक्तिको नेतृत्व नेकपा एमालेले गरेको छ भने दोस्रो शक्तिको नेतृत्व शेरबहादुर देउवाले । लोकतन्त्रले जनादेशमा विश्वास गर्छ,परमादेशमा होइन । त्यसैले जनताले पनि जनादेशलाई सम्मान गर्छन्,परमादेशलाई होइन । त्यसैले आजको मतदान भनेको जनादेशलाई सदर गर्ने कि परमादेशलाई ? त्यसको छिनोफानो हुने दिन पनि हो । सबैलाई थाहा छ अहिलेको सरकार सर्वोच्च अदालतले परमादेशबाट बनाइदिएको हो । अर्को कुरा पनि जनतालाई थाहा छ जनादेशप्राप्त दललाई उही सर्वोच्चले नै परमादेश मार्फत बिस्थापन गरेको हो । राष्ट्रिय मुद्धामा आम नागरिकले व्यक्त गरेको अभिमत सधैं निर्णायक हुदैन तर आवधिक निर्वाचनमा एक एक व्यक्तिको अभिमतको मूल्यांकन हुन्छ,त्यसको औचित्य हुन्छ र निर्णायक हुन्छ पनि । त्यसैले विवेक प्रयो गरौं । कुन पार्टीले देशको हित,जनताको हित र संविधानको रक्षाको मुद्धा बोकेको छ अनि कुन पार्टीले पद र प्रतिष्ठाका लागि संविधानलाई पटक पटक बन्धक बनाउने काम गरेको छ । त्यो कुरालाई सच्याउने दिन आजै हो ।
त्यसैले विवेकी मतदाताहरुले विगत पाँच वर्षमा कुन पार्टीका जनप्रतिनिधीले के कस्तो काम गरे ? अब कस्ता जनप्रतिनिधी छनौट गर्दा गाउँघरको विकासमा योगदान गर्न सक्छन् भनेर विवेक प्रयोग गर्ने समय आएको छ । सम्पूर्ण बालिग मतदाताहरुले विवेकी हुनुहुन्छ । झण्डै वर्ष दिन देखि देश परमादेशको शासनबाट शासित छ । यसलाई जनादेशमा फर्काउने उपयुक्त समय आजै हो । त्यसैले विवेक प्रयोग गरौं । लोकतन्त्रको रक्षाका लागि जनादेशको सदैव सम्मान गर्ने दल र तिनका प्रतिनिधीलाई मतदान गरौं ।