अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विशेष दिन, विशेष अंक

विशेष दिन, विशेष अंक


२००८ सालमा तेह्रथुमका छातेढुंगामा जन्मनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजबाट ७२ वर्षमा प्रवेश गर्नुभएको छ । नेताले राजनीति मात्र होइन त्यसमार्फत जनताको निराशालाई आशामा कसरी बदल्न सक्छ भन्ने एउटा मानक केपी शर्मा ओली हो । त्यही आशावादी जनताले उहाँको जन्मदिनलाई विशेष दिनका रुपमा स्मरण गर्दछन् ।

झापा विद्रोह हुँदै जनताको मुक्ति र सुखका लागि भनेर होमिएका ओली १४ वर्ष जेल बसेर निस्कंदा शारिरीक रुपमा कमजोर तर मानिसक रुपमा इस्पात बनेर निस्कनु भयो । उहाँकै दृढ इच्छाशक्तिले नेपालमा गैरराजनीतिक संस्कार, हिंसात्मक आन्दोलन, जातीय द्वन्द्वले ठूलो आयातन लिन नपाएको कुरा जगजाहेरै छ ।

केपी ओलीलाई विभिन्न तहका मानिसहरुले आफ्नै आफ्नै दृष्टिकोणले स्मरण गर्ने गरेका छन् । खासगरी २०७२ सालको संविधान जारी भए लगत्तै उहाँ प्रधानमन्त्री भएपछि उहाँको क्षमतामा प्रश्न गर्नेहरुको शिर निहुरियो । भारतीय नाकाबन्दीको डटेर सामना, अन्तर्राष्ट्रिय फोरमहरुमा अंग्रेजी भाषामा दिएका मन्तव्य, देश सानो ठूलो भए पनि सार्वभौमिकता सानो ठूलो हुँदैन भन्ने भाष्य उहाँले नै स्थापित गर्नुभयो ।

गरिबी, अस्थिरता, राजनीतिक आन्दोलन, बेरोजगारी, पछौटेपनले निराश नेपाली जनतालाई उहाँले विकास, समृद्धि, रोजगारी र स्वदेशमै अथाह सम्भावना देखाएर देशलाई नै आशामा परिणत गरिदिनुभयो । नेपाल समृद्ध हुन्छ र नेपाली सुखी हुन्छन् भन्ने आशा आम नेपालीमा छायो । यसलाई उहाँले राष्ट्रिय आकांक्षाको रुपमा ‘समृद्ध नेपाल,सुखी नेपाली’को नारा दिएर त्यसै अनुरुपका कामहरु अघि बढाउनुभयो ।

नेपाल सम्भावनाको देश भनेर उहाँले अन्तराष्ट्रिय फोरमहरुमा नेपाललाई चिनाउने काम गर्नुभयो । राणाशासन देखि अधिकारका लागि मात्र लड्नु परेका नेपालीको नियती बदलिएको सन्देश उहाँले दिनुभयो । अब राजनीतिक स्थिरता मार्फत देशमा विकास र समृद्धिको लहर ल्याउनु पर्दछ भन्ने उहाँको मुलमन्त्रमा आम नेपालको साथ सहयोग थियो नै । तर नेपालमा अस्थिरता चाहने स्वदेशी तथा विदेशी शक्तिहरुले उहाँको यो गतिमा ब्रेक लगाउने प्रयत्न गरे । जसको असर अहिले देखिरहेको छ ।

देशमा फेरी अस्थिरतालाई निम्तो दिन सरकार गठन भएको दुई महिना नपुग्दै सरकारकै नेतृत्व गरेको दल उद्यत देखिन्छ । व्यक्तिगत स्वार्थका पछाडि देश र जनताको हितलाई बिर्सिदिने नेतृत्वले जनताका लागि काम गर्न सक्दैन । यी प्रयासहरुलाई रोक्न अहिले पनि केपी शर्मा ओलीको प्रयास जारी रहेको छ ।

देशले मागेको, नेपालीहरुले सबैभन्दा बढी माया र आशा गरेको नेताको जन्मदिनको अवसरमा आज हामीले विशेष अंक प्रस्तुत गरेका छौं । केपी शर्मा ओली दुवै पटक प्रधानमन्त्री भएका बेला अघि सार्नु भएका विकास र समृद्धिका लक्ष्यहरुलाई विभिन्न कोणबाट बहस गर्ने प्रयास हाम्रो छ । यसैगरी उहाँसँगका केही संस्मरणहरु,उहाँको दैनिकी र उहाँले भनिरहेको समृद्ध नेपाली सुखी नेपालीको मार्ग चित्र के हो भन्ने कुराको झलक पनि हामी आज प्रकाशन गर्नेछौं । मानिसको मृत्युपछि मात्र गरिने योगदानको चर्चालाई जिवित छदै गर्नुपर्छ भन्ने उद्देश्यले आज केपी शर्मा ओलीका योगदानलाई विभिन्न कोणबाट व्याख्या र विष्लेषण गर्ने प्रयास गरेका हौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ७२ औं जन्मदिनको अवसरमा यो बेला परिवार उहाँको सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।