अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युक्रेन युद्ध : रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा धातक विस्फोट

युक्रेन युद्ध : रुस समर्थक पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा धातक विस्फोट


काठमाडौं-पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर डोनेट्स्कमा भएका शृङ्खलाबद्ध विस्फोटनमा परी १३ जनाको मृत्यु भएको र अन्य घाइते भएको उक्त सहरका रुस समर्थित मेयरले बताएका छन्।

अलेक्सी कुलेम्जिनले ‘दण्डित गर्ने खालको’ युक्रेनी ‘गोलाबारी’का कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाए। उक्त घटनाबारे युक्रेनी अधिकारीले कुनै टिप्पणी गरेका छैनन्। डोनेट्स्कलाई सन् २०१४ देखि रुसको प्रतिनिधत्व गर्ने अधिकारीहरूले नियन्त्रणमा राखेका छन्। उनीहरूले बारम्बार युक्रेनी सेनाले उक्त सहरलाई निसाना बनाएको आरोप लगाएका छन्।

पूर्व युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रका घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि हुन कठिन छ। यद्यपि स्थानीय अधिकारीले सहरको पश्चिममा रहेको एउटा गाउँबाट डोनेट्स्कको कुभिशेभ्स्की जिल्लामा नौवटा १५० एमएमका गोलाबारी गरिएको बताएका छन्।

युक्रेनमाथि आरोप
स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजान बसस्टप, पसल र ब्याङ्कमा गोलाबारी गरेर सर्वसाधारणलाई निसाना बनाएको आरोप लगाए। यद्यपि गत फेब्रुअरीमा आक्रमण सुरु भएदेखि रुसी सेनाले डोनेट्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन्।

तर पनि उनीहरूले युक्रेनी सेनालाई सहरको बाहिरी भागबाट पछाडि धकेल्न सङ्घर्ष गरिरहेका छन्। युक्रेनी फौजले दक्षिण र पूर्वोत्तरमा प्रत्याक्रमण सुरु गरेका छन्। उनीहरूले यसै महिना उत्तरी खार्किभ क्षेत्रमा सबैभन्दा नाटकीय रूपमा प्रगति गरेका छन्।

युक्रेनी नेताको भनाइ
लुह्यान्स्क क्षेत्रका प्रमुख सेर्ही हाइडाईले युक्रेनी ट्याङ्कले ‘पोन्टुन’ पुल पार गरेको भिडिओ साझा गरेका छन्। उनले युक्रेनले अब ओस्कील नदीको बायाँ किनारालाई नियन्त्रणमा लिएको बताए। उक्त क्षेत्रलाई पूर्वोत्तर युक्रेनको अग्रामोर्चाका रूपमा लिइन्छ।

यदि युक्रेनी सेनाले ओस्कीलको पूर्वीतर्फ आफ्नो नियन्त्रणलाई कायम राखिराख्न सकेमा त्यसले एउटा सफलताको प्रतिनिधित्व गर्नेछ। हाइडाईले अबको लक्ष्य गत मे महिनामा रुसी सेनाले कब्जा गरेको लिमान सहरलाई मुक्त गराउनु रहेको बताए।

‘लुह्यन्स्क क्षेत्र नजिकै छ र त्यहाँको कब्जा हटाउन अब धेरै लाग्दैन,’ उनले दाबी गरे। आइतवार अबेर राती आफ्नो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले हालका दिनहरू एक प्रकारको शान्त जस्तो देखिन सक्ने बताउँदै भने, ‘तर कुनै शान्त हुनेछैन। अर्को शृङ्खलाको तयारी छ… युक्रेन पूर्ण स्वतन्त्र हुनुपर्छ।’ बीबीसी

Skip This