अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जितेका स्थानीय तहले जनमुखी भएर काम गर्नु पर्दछ : महासचिव शंकर पोखरेल

एमालेले जितेका स्थानीय तहले जनमुखी भएर काम गर्नु पर्दछ : महासचिव शंकर पोखरेल


काठमाडौं -नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले एमालेले काम गरेर देखाउने ठाउँ स्थानीय सरकार भएको बताउनुभएको छ ।
शनिबार नेकपा एमाले कास्कीले पोखरामा आयोजना गरेको जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले केन्द्र र प्रदेश सरकारमा पार्टी नभएको अवस्थामा स्थानीय तहमा काम गरेर देखाउनु पर्ने बताउनुभयो। ‘नेकपा एमाले फरक छ भन्ने देखाउने ठाउँ स्थानीय सरकार हो’, उहाँले भन्नुभयो ।
नेकपा एमालेलाई आफ्नो अभिभावक ठान्ने पार्टी बनाउनु पर्ने पोखरेलले बताउनुभयो । हरेक क्षेत्रले एमाले आयो भने हाम्रो जीवनमा परिवर्तन आउँदछ भन्ने कुरा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीय तहका जनता परिचालन गरेर गर्न सकिने काम जनपरिचालन गरेरै गर्नुपर्ने पोखरेलले बताउनुभयो । जतिधेरै जनपरिचालन गर्‍यो त्यति नै जनताले साथ दिने उहाँले प्रष्ट पार्नुभयो । जनप्रतिनिधिले गरेको कामका आधारमा पार्टी बन्ने वा बिग्रने कुरा पनि निर्धारण हुने पोखरेलले बताउनुभयो ।
पार्टी र जनप्रतिनिधिका बिचमा एक अन्तर्विरोध भयो भने जनप्रतिनिधि र पार्टी दुवैले प्रभाकारी काम गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । जनप्रतिनिधिलाई अप्ठेरो पर्ने गरी पार्टी नेताहरूले काम गर्नु नहुने र जनप्रतिनिधिले पनि पार्टी कमिटीसँग तादम्यता राखेर काम गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । पार्टी र जनप्रतिनिधि बिच संयन्त्र निर्माण गरी पार्टी र विकासको काम अघि बढाउनु पर्ने उहाँको सुझाव छ ।
काम गर्दा जनतालाई विश्वासमा लिएर गर्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनतालाई विश्वासमा लिएर काम गरे मात्र जनामा रहेको निराशा चिर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
अहिलेको संविधान एमालेको सक्रिय सहभागितामा बनेकोले संविधान कार्यान्वयनको प्रमुख दायित्व पनि एमालेकै काँधमा भएको उहाँले बताउनुभयो । विद्रोहको राजनीतिक यात्रा टुङ्गिएकोले अबको अभिभार राज्य निर्माणको पोखरेलले बताउनुभयो ।
पोखरेलले संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई चिर्दै नेकपा एमाले अघि बढ्नु पर्नेमा जोड दिनुभयो । जनताले रोजेको पहिलो पार्टी भएकोले देश निर्माणमा पहिलो भूमिका पनि एमालले निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
पोखरेलले यस अघि बाग्लुङ बजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएको थियो ।
त्यस अघि नेकपा एमाले म्याग्दी जिल्लाको १० औँ जिल्ला अधिवेशनको बन्दसत्रलाई पोखरेलले सम्बोधन गर्नुभएको थियो । पोखरेलले प्रेस चौतारी नेपाल म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत पार्टीको धारणा राख्नु भएको थियो ।