अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिन्चोकमा ढकमक्क फूलेको सेतो गुराँस, घुम्न जाने हैन त ?

कालिन्चोकमा ढकमक्क फूलेको सेतो गुराँस, घुम्न जाने हैन त ?


कालिञ्चोक-कालिञ्चोक क्षेत्रमा यतिबेला गुराँसको फूल फुलेर पहाड नै सेताम्य साथै राताम्य बनेको छ। वसन्त ऋतुको आगमनसँगै जंगलभरि ढकमक्क फूलेका गुराँसले मानिसहरुलाई आकर्षित गरेको छ। धार्मिक आस्था बोकेर कालिञ्चोक भगवतीको दर्शन गर्न पुग्नेहरू त्यहाँको प्राकृतिक सौन्दर्यले समेत आकर्षित हुने गरेका छन्।

दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ। कालिञ्चोक भगवती हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल पनि हो। सदरमुकाम चरिकोटबाट करीब १७ किलोमिटर उत्तरमा पर्छ।  मन्दिर ३८४२ मिटर उचाइमा रहेको छ। समुद्री सतहभन्दा ३ हजार ८४२ मिटर उचाइमा रहेको यो क्षेत्रमा दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ।

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदीबहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। प्राकृतिक सुन्दरताको उत्कृष्ट स्थान कालिञ्चोक जीवनमा एक पटक जानै पर्ने ठाउँमा पर्दछ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ।

कसरी जाने कालिञ्चोक

कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन। त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ। त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ। तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाउन पाइन्छ। निजी सवारी साधन लिएर जानेले मुडे हुँदै मकैबारी भन्ने स्थानबाट माथि लाग्नुपर्दछ। करिब १८ किलोमिटर सडकमा धुलो, हिलो, ढलान हुँदै कुरी बजार पुगिन्छ। चरिकोटदेखि जानेले १९ किलोमीटर दुरीको यात्रा तय गर्न सकिन्छ। कुरी बजारमा झण्डै दुई दर्जन हाराहारीमा होटलहरु रहेका छन्। त्यहाँ आफ्नो रोजाई अनुसार बस्न र खान सकिन्छ। फर्कदा कालिन्चोकमा स्थानीय छुर्पी, जडिबुटीलगायतका कोसेलीहरु ल्याउन सकिन्छ।