अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको चिटिक्क सडक (तस्बिरहरू)

नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको चिटिक्क सडक (तस्बिरहरू)


काठमाडौँ-काठमाडौँ चक्रपथअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सम्पन्न भएको छ। विस्तार कार्य सकिएसँगै उक्त सडक अहिले चिटिक्क, व्यवस्थित र आकर्षक देखिएको छ।

करिब ७०० मिटर लामो उक्त सडकखण्डमा कालोपत्रे, लेन मार्किङ, जेब्रा क्रसिङ तथा सडक रेखांकनको काम पूरा भएपछि सवारी आवागमन थप सहज बनेको छ। चौडा र चिल्लो सडकसँगै व्यवस्थित संरचना निर्माण गरिएकाले स्थानीयवासी र चालकहरूले पनि राहत महसुस गरेका छन्।

यो सडक महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण) सम्मको सडक विस्तार योजनाअन्तर्गत निर्माण गरिएको हो । चीन सरकारले चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्मको खण्ड मात्र निर्माण गर्ने भएपछि बीचमा पर्ने नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गरेको हो।

डिभिजन सडक कार्यालय, मीनभवनले २०८१ फागुनमा एम-एस अम्बुजा–काली एसके जेभीसँग सम्झौता गर्दै २०८२ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्माण कार्य निर्धारित समयभन्दा करिब एक वर्ष ढिला गरी सम्पन्न भएको जनाइएको छ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। निर्माण सम्पन्न भएको यो खण्ड चक्रपथको कलंकी–कोटेश्वर सडकखण्डकै मापदण्डअनुसार विस्तार गरिएको सडक विभागले जनाएको छ।

यसअघि चीन सरकारको सहयोगमा विस्तार गरिएको १०।३९ किलोमिटर लामो कलंकी–कोटेश्वर सडकखण्ड २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसपछि दोस्रो चरणअन्तर्गत कलंकीदेखि बसुन्धारासम्म सडक विस्तार गर्ने विषयमा नेपाल र चीनबीच समझदारी भए पनि निर्माण प्रक्रिया अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन।

हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेका छन्। काठमाडौँ उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्ने उद्देश्यले सरकारले चक्रपथलाई आधुनिक, फराकिलो र व्यवस्थित बनाउने योजना अघि बढाएको हो।

नारायणगोपाल चोक-चप्पल कारखाना सडक खण्ड सञ्चालनमा आएपछि विशेषगरी महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । स्थानीय व्यवसायी तथा सर्वसाधारणले पनि सडक विस्तारपछि यात्रा समय घट्ने र दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरेका छन् ।