अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन । महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देख्नुभयो न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ । महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ ।

अल्पसङ्ख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वडा नम्बर १२ र १३ मा ७५ परिवार अल्पसङ्ख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताउनुभयो । “अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ ।” उहाँले सुनाहा जाति अल्पसङ्ख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताउनुभयो ।

“आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ”, उहाँले भन्नुभयो, “हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।” उहाँले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसङ्ख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गर्नुभयो ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताउनुभयो । “उति बेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे”, उहाँले भन्नुभयो, “त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन ।” उहाँले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताउनुभयो ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्नुहुन्छ । उहाँले पुख्र्यौली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताउनुभयो । “हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ ।” उहाँले भन्नुभयो, “अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ ।” उहाँले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताउनुभयो ।

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायले पटक पकट जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् । “सुनाहा जातिको समूह बनाएर काठमाडौं सम्म पुगेका छौं सुनुवाइ भएन”, घनश्यामले भन्नुभयो, “काठमाडौं जान पैसा नभएर सबै प्रतिपरिवार दुई हजार उठाएर काठमाडौं पुगेर आफ्ना माग राख्यौँ ।”

सुनाहा समुदायका बालबच्चाको शिक्षाका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने मेघादेवी सुनाहाले बताउनुभयो । “आर्थिक समस्याका कारण हाम्रा छोराछोरीले विद्यालय जान पाएका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा कक्षा ९ सम्म मात्रै निःशुल्क छ त्यसभन्दा माथि शुल्क लिने गरेका छन ।” उहाँले उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या हुँदा विद्यालय छोडेर रोजगारीका लागि भारतर्फ जाने गरेको बताउनुभयो ।

यो समुदायको प्रमुख आय स्रोतका रुपमा महाकाली नदी रहेको छ । असोज महिनादेखि असारको महिनासम्म नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् ।

Skip This