अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडाद्वारा विपन्न मजदुरको बिमा

वडाद्वारा विपन्न मजदुरको बिमा


बाँके-नेपालगन्ज उपमहानगरपालिका–१ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ। वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो।

म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो। उहाँले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिनुभयो।

वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बिमा गरिने छ। वडासचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गर्नुभएको हो। 

वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा रू दुई सय ७९ र ५५ वर्षको उमेर भएकाको रू एक हजार एक सय ३५ तिरेर बिमा गरिने जानकारी दिनुभयो । बिमाबापतको रकम वडा कार्यालयले दिने छ। 

'बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ', रिजालले भन्नुभयो। उहाँका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो।

रू एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा निजका परिवारले रू दुई लाख र क्रियाखर्च रू २५ हजार उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिनुभयो।